
काठमाडौं । थाइल्यान्ड र कम्बोडियाबीच युद्धविराम सम्झौता भएको छ ।
थाइल्यान्डको चन्थाबुरी प्रान्तस्थित सीमा चेकप्वाइन्टमा भएको विशेष बैठकमा कम्बोडियाका रक्षामन्त्री टी सेइहा र थाइल्यान्डका रक्षामन्त्री नट्टाफोन नार्कफानिटबीच युद्धविराम सम्झौतामा हस्ताक्षर भएको हो । सीमा विवादका विषयमा दुई देशबीच भएको युद्धमा एक सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने दुबै देशका पाँच लाखभन्दा बढी नागरिक विस्थापित भएका छन् ।
शनिबार स्थानीय समयअनुसार १२ बजेदेखि सम्झौता लागू भएको छ । त्यसलगलै कम्बोडियाको सीमावर्ती सहर पोइपेटमा गोली चल्न छाडेको अल-जजिराले जनाएको छ । युद्धविराम पालना भएको ७२ घन्टाभित्र थाइल्यान्डको नियन्त्रणमा रहेका कम्बोडियाका १८ सैनिक फिर्ता गर्ने सहमति पनि बनेको छ ।
पछिल्ला २० दिन यी दुबै देशबीच भीषण युद्ध चलेको थियो । दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संघ (आसियान) का पर्यवेक्षकको टोलीले पछिल्लो सम्झौता कार्यान्वयनको अनुगमन गर्ने पनि सम्झौतामा उल्लेख छ । समस्याहरूलाई संवादमार्फत समाधान गर्दै जाने सहमति दुई पक्षबीच भएको छ ।
यस वर्ष थाइल्यान्ड र कम्बोडियाबीच यो दोस्रो लडाइँ हो । यसअघि गत जुलाईमा पाँच दिनसम्म चलेको लडाइँमा दर्जनौं मानिस मारिएका थिए । त्यसपछि अमेरिका, चीन र मलेसियाको मध्यस्थतामा दुई देशबीच युद्धविराम भएको थियो । तर डिसेम्बरको सुरुमा युद्धविराम फेरि भंग भएको थियो ।