
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा एक करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता सहभागी हुने भएका छन् ।
निर्वाचन आयोगले शनिबार सातवटै प्रदेशबाट फागुन २१ गते हुने निर्वाचनका लागि योग्य मतदाताको तथ्यांक सार्वजनिक गरेको हो । सबैभन्दा धेरै मतदाता बागमती प्रदेशमा ३६ लाख ८२ हजार ३ सय १० रहेका छन् भने सबैभन्दा कम कर्णालीमा १० लाख ३७ हजार २ सय ५० रहेका छन् ।
यसैगरी कोशीमा ३५ लाख ७४ हजार ३ सय १०, मधेशमा ३६ लाख ३६ हजार ४ सय १४, गण्डकीमा १८ लाख ७० हजार ६५, लुम्बिनीमा ३३ लाख ८६ हजार ६ सय ८० र सुदूरपश्चिममा १७ लाख १६ हजार ६ सय ६० मतदाता रहेका छन् । यसैगरी पुरुष मतदाताको संख्या ९६ लाख ६३ हजार ३ सय ५८ रहेको छ भने महिला मतदाता संख्या ९२ लाख ४० हजार १ सय ३१ छन् ।
अन्य मतदाताको संख्या २ सय जना रहेको आयोगले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । मतदान स्थल १० हजार ९ सय ६७ रहने छ भने मतदान केन्द्र २३ हजार १ सय १२ रहने आयोगले जनाएको छ । सबभन्दा कम मतदान स्थल कर्णालीमा ९ सय ४१ रहने छ भने सबभन्दा बढी मधेश प्रदेशमा २१ सय ६० रहने आयोगले जनाएको छ ।
त्यस्तै मधेश प्रदेशमा सबैभन्दा बढी मतदान केन्द्र ४ हजार ४ सय ७१ कायम गरिएको छ भने कम कर्णालीमा १ हजार ४ सय ३७ रहने आयोगले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यसैबीच आयोगले विज्ञप्ति जारी गर्दै रित पुर्याएरमात्र निर्धारित समयभित्र समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्न सबै राजनीतिक दललाई आग्रह गरेको छ ।