
काठमाडौं । अमेरिकाले उत्तर-पश्चिमी नाइजेरियामा इस्लामिक स्टेट समूह आईएससँग सम्बन्धित लडाकूहरूविरुद्ध आक्रमण सुरु गरेको छ ।
अमेरिकी सेनाले सोकोटो राज्यमा आईएसद्वारा सञ्चालित शिविरहरूमा प्रहार गरिएको बताएको छ। मृतक र घाइतेहरूको सङ्ख्या स्पष्ट भनए पनि अमेरिकी र नाइजेरियाली दुवै अधिकारीहरूले आतंककारीहरू मारिएको दाबी गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिसमसको दिनको आक्रमण घातक भएको टिप्पणी गर्नुभएको छ । उहाँले आईएस समूहलाई आतंकवादी फोहोर भन्दै उनीहरूले मुख्यतया निर्दोष इसाइहरूलाई ताकिताकी निर्ममरूपमा मारिरहेको दाबी गर्नुभएको छ ।
नाइजेरियाली विदेशमन्त्री युसुफ मैतामा तुग्गरले भने अमेरिकासँग मिलेर संयुक्त अपरेसन गरेको तर अपरेसन कुनै धर्म विशेषप्रति लक्षित नभएको दाबी गर्नुभएको छ । गुप्तचरी सूचनाको आधारमा धेरै समयदेखि हमलाहरूको योजना बनाइएको पनि उहाँले बताउनुभयो । उहाँ थप हमलाहरू हुने समेत बताउनुभएको छ ।
नाइजेरियाली सरकार देशको उत्तरपूर्वी क्षेत्रमा लामो समयदेखि बोको हराम र आईएससँग सम्बन्धित गुटहरूसहित जिहादी समूहहरूसँग लडिरहेको छ। तर हालैका वर्षहरूमा स्थानीयरूपमा लकुरावा भनेर चिनिने सानो समूहले उत्तर-पश्चिमी सोकोटो राज्यमा आधार स्थापना गर्न खोजेको छ ।