प्रधानमन्त्री सुशीला कार्की र ठूला तीन दलका शीर्ष नेताबीचको छलफल जारी

पुस १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री सुशीला कार्की र ठूला तीन दलका शीर्ष नेताबीचको छलफल जारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र विघटित प्रतिनिधि सभाका तीन ठूला राजनीतिक दलका शीर्ष नेताबीच भेटवार्ता जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँग भेटवार्ता गर्नु भएको छ । जारी भेटवार्तामा प्रधानमन्त्री कार्कीले फागुन २१ को निर्वाचनलाई सफल पार्न दलहरुको भूमिका महत्वपूर्ण रहेको र निर्वाचन सुरक्षाप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तीनै दलका शीर्ष नेताले चुनावी वातावरण र सुरक्षाप्रति चासो राखेका छन् । सरकारले चुनावको वातावरण निर्माण गर्न भन्दै दलका नेताहरूसँग निरन्तर संवाद गरिरहेको छ । शुक्रबार सरकारका प्रवक्ता जगदीश खरेलले तीनै दलका शीर्ष नेतालाई निवासमै पुगेर भेटवार्ताका लागि आमन्त्रण गर्नु भएको थियो । 

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अग्रसरतामा तीन दलका शीर्ष नेता र प्रधानमन्त्रीबीच गत मंगलबार शीतल निवासमा भेटवार्ता भएको थियो । प्रधानमन्त्री कार्कीकै अग्रसरतामा भने तीन नेताबीच पहिलो पटक भेटवार्ता भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.