लिबियाका सेनाप्रमुखसहित पाँच जनाको विमान दुर्घटनामा निधन, अनुसन्धान सुरू

पुस ९, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
लिबियाका सेनाप्रमुखसहित पाँच जनाको विमान दुर्घटनामा निधन, अनुसन्धान सुरू

काठमाडौं । लिबियाका सेनाप्रमुख जनरल मोहम्मद अली अहमद अल हद्दादको विमान दुर्घटनामा निधन भएको छ ।

टर्कीको राजधानी अंकाराबाट मंगलबार साँझ उडेको फाल्कोन ५० विमान दुर्घटनामा पर्दा सेनाप्रमुख अलीसहित पाँचजनाको मृत्यु भएको हो । टर्कीका गृहमन्त्री अली यर्लिकायाले विमान उडेको ४२ मिनेटपछि विमानको सम्पर्कविच्छेद भएको बताउनुभएको छ । 

त्यसअघि विमानले आपतकालीन अवतरणको अनुमति मागेको थियो । त्यसपछि अंकाराको दक्षिण-पश्चिममा विमानका टुक्राहरू फेला परेको हो । विमान दुर्घटनाबारे अनुसन्धान सुरू गरिएको छ । लिबियाका प्रधानमन्त्री अब्दुल हमिद दवेइ-बाहले इमानदारीपूर्वक र समर्पणका साथ देश सेवा गर्नेहरूलाई लिबियाले गुमाएको र यो अपूरणीय क्षति भएको बताउनुभएको छ । 

दुई देशबीचको सैन्य सहकार्यलाई सुदृढ गर्ने विषयमा वार्ता गर्नका लागि जनरल अली टर्की जानुभएको थियो ।