
काठमाडौं । क्याम्बोडियाले थाइल्यान्डमाथि विवादित सीमा क्षेत्रमा आक्रमण तीव्र बनाएको आरोप लगाएको छ ।
झडप रोक्ने उदेश्यका साथ दुवै देशका अधिकारीहरू पाँच दिने वार्तामा रहेकै बेला कम्बोडियाले थाइल्यान्डमाथि आक्रमणको आरोप लगाएको हो । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार कम्बोडिया र थाइल्यान्डबीच लामो समयदेखि चलेको सीमा विवाद यस महिनामा पुनः भड्किएको छ ।
यसमा ४० भन्दा बढी जनाको मृत्यु भइसकेको छ भने करिब एक लाख मानिस विस्थापित भएका छन् । अहिले कम्बोडिया र थाइल्यान्डका अधिकारीहरू सीमा जाँच चौकीमा तेस्रो दिनको वार्तामा सहभागी छन् । शनिबार दुबै देशका रक्षामन्त्रीहरूको भेट तय गरिएको छ ।
तर कम्बोडियाको रक्षा मन्त्रालयका अनुसार, शुक्रबार बिहान थाइल्यान्ड सेनाले बान्तेया मेन्चे प्रदेशको विवादित क्षेत्रमा-१६ जेटमार्फत ४० बम खसाएर आक्रमण गरेको छ । थाइल्यान्डका सञ्चारमाध्यमले भने कम्बोडियाली सेनाले राति साकाओ प्रदेशको सीमामा आक्रमण गरेको र केही घरहरूमा क्षति पुगेको जनाएका छन् ।
दुबै पक्षले एक अर्कालाई झडप सुरू गरेको आरोप लगाएका छन् । दुबैले आफूहरू आत्मरक्षामा लागेको र नागरिकमाथि आक्रमण भएको आरोप अर्को पक्षमाथि लगाएका छन् । यसअघि अमेरिका, चीन र मलेसियाले जुलाईमा पाँच दिनको घातक झडपपछि आंशिक समझदारी गराएका थिए ।