रूससँगको युद्ध अन्त्यको प्रयासस्वरूप आइतबार ट्रम्पलाई भेट्दै जेलेन्स्की

पुस १२, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
रूससँगको युद्ध अन्त्यको प्रयासस्वरूप आइतबार ट्रम्पलाई भेट्दै जेलेन्स्की

काठमाडौं । युक्रेनी राष्ट्रपति भोल्दिमिर जलेन्स्कीले भोलि फ्लोरिडामा अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्दैहुनुहुन्छ । रूसको पूर्णस्तरको युद्ध अन्त्य गर्ने प्रयासबीच यो भेटवार्ता हुन लागेको हो ।

जेलेन्स्कीका अनुसार भेटमा अमेरिकाले मध्यस्थता गरेको शान्ति योजनासहित युक्रेनका लागि अमेरिकी सुरक्षा ग्यारेन्टीसम्बन्धी छुट्टाछुट्टै प्रस्तावहरूमा छलफल हुने छ। तर एक वरिष्ठ रूसी अधिकारीले भने अमेरिकासँग रूसले छलफल गरिरहेको योजना “पूणरूपमा फरक” रहेको दाबी गरेका छन्।

मस्कोले वार्तामा “ढिलो तर स्थिर प्रगति” भएको बताउँदै आएको छ । तर युक्रेनको पूर्वी डोनबास क्षेत्रबाट आफ्ना सेना फिर्ता गर्न जेलेन्स्कीले दिएको प्रस्तावबारे भने कुनै टिप्पणी गरेको छैन। जेलेन्स्कीले रूस पनि पछि हटेमा युक्रेनले आफ्ना सेना फिर्ता गर्ने प्रस्ताव गर्नुभएको थियो।

यसैबीच, गएराति कीभमा विस्फोटको आवाज सुनिएको छ । युक्रेनी अधिकारीहरूका अनुसार यो रूसको नयाँ हवाई आक्रमण हो। कीभका मेयर भितालि क्लिच्कोले युक्रेनको हवाई प्रतिरक्षा प्रणालीले राजधानीमाथि भएको रूसी आक्रमणलाई प्रतिकार गरेको बताउनुभएको छ । हालसम्म आक्रमणबाट मानवीय क्षति भएको वा नभएको स्पष्ट भइसकेको छैन।