ट्रम्पद्वारा भेनेजुएलाका राष्ट्रपति मडुरोलाई पद छाड्न चेतावनी

अन्यत्र हस्तक्षेप गर्नुभन्दा आफ्नै देशका समस्यामा केन्द्रित हुन मडुरोको आग्रह
पुस ८, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
ट्रम्पद्वारा भेनेजुएलाका राष्ट्रपति मडुरोलाई पद छाड्न चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई पद छाड्न चेतावनी दिनुभएको छ ।

फ्लोरिडास्थित आफ्नो स्वामित्वको मार ए लागो रिसोर्टमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले ‘मडुरोका पद छाड्नु नै बुद्धिमानी हुने बताउनुभएको हो । मडुरोलाई सत्ताच्यूत गराउने नै लक्ष्य हो भनेर पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले त्यस्तै पनि हुन सक्ने तर त्यो मडुरोको निर्णय हुने बताउनुभयो ।

पछिल्लो समय भेनेजुयला र अमेरिकाबीचको सम्बन्ध निकै तनावपूर्ण छ । अमेरिकाले केही साताभित्र भेनेजुएलाबाट आउने तेल बोकेका दुईवटा जहाज जफत गरिसकेको छ । अहिलेसम्म अमेरिकाले भेनेजुयलाबाट आएको ४० लाख ब्यारेल तेल नियन्त्रणमा लिइसकेको छ । अमेरिकी तटरक्षक बलले भेनेजुएलामाथि लगाइएका प्रतिबन्ध छल्न प्रयोग गरिएको भनिएको ‘डार्क फ्लीट’ अन्तर्गतको तेस्रो तेल ट्यांकरलाई पनि पछ्याइरहेको जनाएको छ ।

ट्रम्पले ती जहाज र तेल अमेरिकाले नै राख्ने, आवश्यक परे बेच्ने वा रणनीतिक भण्डारणमा प्रयोग गर्ने बताउनुभएको छ । यसबाहेक भेनेजुएला हुँदै आउने साना डुंगालाई पनि अमेरिकी सेनाले निशाना बनाउँदै आएको छ । लागुऔषध बोकेको आशंकामा भेनेजुएला हुँदै आएका डुंगाहरूमा अमेरिकाले आक्रमण गर्दा ठूलो संख्यामा मानिसहरूले ज्यान गुमाइसकेका छन् ।

तर तेल बोकेका जहाज जफत गर्ने अमेरिकाको कदमलाई भेनेजुएलाले डकैती भन्दै विरोध गर्दै आएको छ । भेनेजुएलाका राष्ट्रपति मडुरोले अन्यत्र हस्तक्षेप गर्नुभन्दा आफ्नै देशका समस्याहरूमा केन्द्रित हुन ट्रम्पलाई सुझाव दिनुभएको छ । अमेरिका र उसका सहयोगी देशले भेनेजुएलामाथि आर्थिक नाकाबन्दी लगाएका छन् । 

यस विषयमा छलफल गर्न भेनेजुएलाले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बोलाउन माग गरेको छ । भेनेजुएलाको प्रस्तावलाई रूस र चीनले समर्थन गरेका छन् ।