दुर्घटना न्यूनीकरणका लागि सवारी चालकको स्वास्थ्य परीक्षण

पुस ९, २०८२ |अमर क्षितिज भण्डारी
दुर्घटना न्यूनीकरणका लागि सवारी चालकको स्वास्थ्य परीक्षण

दाङ । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सवारी चालकहरूको नि:शुल्क स्वास्थ्य परीक्षण गरेको छ ।

बुधबार राप्ती स्वास्थ्य प्रतिष्ठानको सहकार्यमा प्रहरी कार्यालय परिसर घोराहीमा आयोजना गरिएको एक कार्यक्रममा सवारी चालकहरूको आँखाको जाँच, सुगर-प्रेसर लगायतको परीक्षण गरिएको हाे । जाँच गरिएका सवारी चालकहरूमध्ये धेरैमा उच्च रक्तचापको समस्या र केहीमा आँखाको समस्या रहेको पाइएको छ । 

अधिकांश सवारी दुर्घटना सवारी चालकको लापरबाही शारीरिक अस्वस्थता लगायतका कारणले हुने गरेको तथ्यलाई मध्येनजर गर्दै चालकहरूलाई जिम्मेवार बनाउन र उनीहरूको स्वास्थ्य जाँच कार्याक्रमको आयोजना गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमूख उपेन्द्र बलमे जानकारी दिनुभयो । 

अन्य समयभन्दा जाडो समयमा बाक्लो हुस्सुका कारण सवारी दुर्घटना बढी हुने गरेको छ । चालू आर्थिक वर्षको मंसिरसम्म दाङ जिल्लामा भएका १९४ सवारी दुर्घटनामा परि ३१ जनाको मृत्यु भएको छ भने ९१ जना गम्भीर घाइते र १९३ सामान्य घाइते भएका छन् ।

गत आर्थिक वर्षको मंसिर मसान्तसम्म जिल्लामा भएका ८४ सवारी दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो भने ६३ जना गम्भीर घाइते भएका थिए ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।