प्रहरी तथा राष्ट्रिय गुप्तचर निकायको समीक्षा गर्ने अस्ट्रेलियाली प्रधानमन्त्रीको घोषणा

सुरक्षा निकायहरू अतिवादको प्रतिक्रिया दिन बलियो अवस्थामा रहनुपर्ने भनाइ
पुस ६, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
प्रहरी तथा राष्ट्रिय गुप्तचर निकायको समीक्षा गर्ने अस्ट्रेलियाली प्रधानमन्त्रीको घोषणा

काठमाडौं । अस्ट्रेलियाले आफ्नो प्रहरी तथा राष्ट्रिय गुप्तचर निकायको समीक्षा गर्ने घोषणा गरेको छ । 

बोन्डी बिचमा भएको आक्रमणको एक सातापछि प्रधानमन्त्री एन्थोनी अल्बानिजले यस्तो घोषणा गर्नुभएको हो । डिसेम्बर १४ मा भएको आक्रमणलाई अस्ट्रेलियाको प्रहरीले 'इस्लामिक स्टेट विचारधाराबाट प्रेरित' व्याख्या गरेको छ । बाबु-छोराले मिलेर उक्त दिन गोली चलाउँदा १५ सर्वसाधारणसहित १६ जनाको मृत्य भएको थियो । 

आक्रमणकारीमध्ये बाबु साजिद अकरमको घटनास्थलमै प्रहरी कारबाहीमा मृत्यु भएको थियो भने छोरा नाविद अकरमको अहिले उपचार चलिरहेको छ । प्रहरीले नाविदविरूद्ध ५९ वटा मुद्दा दायर गरेको छ । प्रधानमन्त्री अल्बानिजले सुरक्षा निकायहरू कुनै पनि अतिवादको प्रतिक्रिया दिनका लागि बलियो अवस्थामा रहनुपर्ने बताउनुभएको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अष्ट्रेलियालीहरूलाई सुरक्षित राख्नका लागि संघीय कानुन र गुप्तचर निकायको अवस्था सही जाँच गर्ने उहाँको भनाइ छ । घटनापछि सरकारले हतियार कानुनलाई कडा बनाउने योजना अघि सारिसकेको छ ।