तोशाखानासम्बन्धी भ्रष्टाचार प्रकरणमा इमरान खानलाई १७ वर्ष जेल सजायको फैसला

१ करोड ६४ लाख जरिवाना
पुस ५, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
तोशाखानासम्बन्धी भ्रष्टाचार प्रकरणमा इमरान खानलाई १७ वर्ष जेल सजायको फैसला

काठमाडौं । पाकिस्तानको रावलपिण्डीस्थित विशेष अदालतले पूर्वप्रधानमन्त्री एवं तेहेरिक-ए-इन्साफ पार्टीका संस्थापक इमरान खान र उहाकी पत्नीलाई भ्रष्टाचारको आरोपमा १७ वर्षको जेल सजाय सुनाएको छ ।

अदालतले तोशाखानासम्बन्धी भ्रष्टाचार प्रकरणको दोस्रो मुद्दामा इमरान खान र उहाँकी पत्नी बुसरा बिबीलाई १७-१७ वर्षका जेल सजाय सुनाएको हो । इमरान खानलाई आपराधिक विश्वासघातअन्तर्गत १० वर्ष र भ्रष्टाचार निवारण कानुनअनुसार थप ७ वर्षको सजाय सुनाइएको हो । यसका साथै दुवै जनालाई १ करोड ६४ लाख रूपैयाँ जरिवानाको फैसला पनि गरिएको छ। जरिवाना नतिरे थप जेल सजाय भोग्नुपर्ने अदालतले जनाएको छ ।

सन् २०२१ मा इमरानले साउदी अरबका राजकुमारबाट एक बहुमूल्य गहना उपहार पाउनुभएको थियो । उक्त गहनाको वास्तविक मूल्य ७ करोड १५ लाख पाकिस्तानी मूल्य भए पनि ५८ लाख रूपैयाँमा खरिद गरेर नियमको उल्लंघन गरेको मानिएको छ ।

इमरान खान सन् २०२३ देखि विभिन्न अभियोगमा जेलमा हुनुहुन्छ । यसअघि सन् २०२५ मा अल कादिर ट्रस्ट प्रकरणमा उहाँलाई १४ र उहाँकी पत्नीलाई ७ वर्षको जेल सजाय सुनाइएको थियो । तोशाखाना प्रकरणको पहिलो मुद्दामा भने इस्लामावाद उच्च न्यायालयले सजाय सुनाउन रोक लगाएको छ । दोस्रो मुद्दामा भएको फैसलाविरूद्ध उच्च न्यायालयमा कानुनी चुनौती दिने तयारी खानका वकिलहरूले गरेका छन् ।