अफ्रिकन कप अफ नेसन्समा आज क्यामरूनले गाबोनको सामना गर्ने

समूह 'एफ'मा रहेका टिम जितसहित प्रतियोगिता सुरूआत गर्ने लक्ष्यमा
पुस ९, २०८२ |खेल ब्युरो
अफ्रिकन कप अफ नेसन्समा आज क्यामरूनले गाबोनको सामना गर्ने

काठमाडौं । अफ्रिकन कप अफ नेसन्सको बुधबार राति हुने खेलमा क्यामरूनले गाबोनको सामना गर्नेछ। 

फिफा विश्वकपका लागि छनोट हुन असफल भएपछि क्यामरूनी फुटबल दबाबमा छ। अफ्रिकी फुटबलको एक समयको शक्तिशाली राष्ट्र क्यामरून अहिले कठिन अवस्थामा रहेको हो। विश्वकपमा सबैभन्दा धेरै आठ पटक सहभागिता जनाउने अफ्रिकी कीर्तिमान बोकेको क्यामरून केप भर्डेसँग पछि पर्दै अर्को विश्वकप गुमाउन बाध्य भएको थियो। 

त्यही टिम बुधबार अफ्रिकी कप नेसन्सको यात्रामा निस्कँदैछ। समूह 'एफ'को यो टिमले आफ्नो पहिलो खेलमा गाबोनको समाना गर्न लागेको हो। त्यसैले उसँग अहिले अफ्रिका कप अफ नेसन्समा राम्रो प्रदर्शन गर्दै समर्थकको मन जित्ने अवसर छ। आइभोरी कोस्ट र मोजम्बिकसँग एकै समूहमा रहेपछि यो समूहलाई ग्रुप अफ डेथ भनिएको छ। 

त्यसैले गहिरो यात्रा गर्न सकेमा क्यामरूनले आलोचनाको जवाफ दिन सक्नेछ। प्रशिक्षक डेविड पागोको टोली टिम छनोटमा समूह विजेता बन्दै अपराजित रूपमा महादेशीय प्रतियोगितामा आइकन हो। तर अब मात्रै उसको वास्तविक परीक्षा सुरू हुने छ। क्यामरूनका प्रशिक्षकले अनुभवी स्ट्राइकर तथा कप्तान भिन्सेन्ट अबुबाकरलाई टोली बाहिर राखेपछि विवाद समेत भएको थियो। 

क्यामरून पछिल्ला दुई खेलमा गोल गर्न असफल छ। उता, डार्क हर्सको ट्यागसहित प्रतियोगितामा प्रवेश गरेको गाबोनले १९९६ र २०१२ मा क्वार्टरफाइनलसम्मको यात्रा गरेको थियो। यो टिम अहिले त्यसभन्दा अगाडि बढ्ने लक्ष्यमा छ। फिफा वरियतामा क्यामरूनभन्दा २७ स्थान तल रहे पनि हालको फर्मका आधारमा गाबोन पराजय टार्न सक्ने अवस्थामा देखिन्छ। 

प्रशिक्षक थिएरी मोयुमाको टोली पछिल्ला छ खेलमा नियमित समयमा अपराजित छ, जसमा विश्वकप प्लेअफमा नाइजेरियासँगको १-१ बराबरी पनि समावेश छ। एफकनमा मंगलबार नै अल्जेरियाले सुडानसँग खेल्नेछ भने आइभोरी कोस्टले मोजाम्बिकको सामना गर्नेछ।