विद्युत् पोल र रूख व्यवस्थापन नहुँदा घोराही-तुलसीपुर चारलेन सडक विस्तार प्रभावित

पुस ९, २०८२ |अमर क्षितिज भण्डारी
विद्युत् पोल र रूख व्यवस्थापन नहुँदा घोराही-तुलसीपुर चारलेन सडक विस्तार प्रभावित

दाङ । दाङको घोराही र तुलसीपुरलाई जोड्ने मुख्य सडक चारलेनमा स्तरोन्नतिको काम भइरहँदा सडक क्षेत्रबाट हटाउनुपर्ने नौ सयभन्दा बढी विद्युत्‌का पोल र सडक क्षेत्रमै रहेका एक सय १६ वटा रूख पनि हटाउनुपर्ने छ । 

विद्युत् पोलको पुनर्संरचना र रूख हटाउने विषयमा भने अझै ठोस निर्णय हुन सकेको छैन भने भौतिकरूपमा काम गरिरहेका कामदारहरूले पनि काममा अफ्ठ्यारो भएको बताएका छन् । चारलेन स्तरोन्नति गरिने क्षेत्रमा माटो फिलिङ गरी रोलर लगाउने कामसमेत धमाधम सुरू भैरहँदा सडक बिचबिचमा रहेका विद्युत् पोलहरूको पुनःव्यवस्थापन हुन नसक्दा काममा अवरोध हुने निर्माण कम्पनीले जनाएको छ । 

सडक किनारमा रहेका तीन थरिका विद्युतका पोल हटाउने काम ठेकेदार कम्पनीकै हो तर त्यसमा रेखदेखको काम विद्युत कार्यालयको हो । विद्युतका पोल हटाउने काम के भैरहेको छ त ? रूख हटाउने काम सडक डिभिजन कार्यालय दाङ र डिभिजन वन कार्यालय दाङको समन्वयमा हुने बताइएको छ । ६ वर्ष अघि भएको ठेक्कामा १२ सय ७५ रूख काट्नु पर्ने थियो । 

ती रूख कति काटिए र कहाँ गए कुनै लेखाजोखा छैन । अहिले चारवटा वन सेक्टरबाट तथ्याङक संकलनको काम भैरहेको वन कार्यालयको भनाइ छ । विद्युतका पोल अन्यत्र व्यवस्थापन स्वयम् विद्युत् प्राधिकरणले गर्ने कानुनी व्यवस्था छ तर पोल अन्यत्र पुनःस्थापन गर्न लाग्ने खर्च भने निर्माण कम्पनीकै हुने निर्माण सम्झौतामा उल्लेख छ । यसको सबै रेखदेखको काम सडक डिभिजन कार्यालयले गरिरहेको छ ।

घोराही-तुलसीपुर २१.५८ किलोमिटर सडक चार लेनमा स्तरोन्नति गर्न झन्डै चार अर्ब लागत अनुमान गरिएकोमा भ्याटसहित दिवा/वन्दन भगवती जेभी निमार्ण कम्पनीले २ अर्ब ५२ करोड ३७ लाखमा ठेक्का पाएको छ । गत असार २३ गते ३६ महिनाको समयअवधि रहेको घोराही तुलसीपुर चारलेन सडक २०८५ असार २३ सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।