
काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो वार्षिक पत्रकार सम्मेलनका क्रममा शुक्रबार मस्कोको सेना युक्रेनको युद्धभूमिमा निरन्तर अगाडि बढिरहेको र क्रेमलिनले तय गरेका सैन्य लक्ष्यहरू अन्ततः हासिल हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।
वर्षको अन्त्यमा आयोजित उक्त पत्रकार सम्मेलनमा राष्ट्रपति पुटिनले रूसी सेनाले ‘रणनीतिक पहललाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएको’ दाबी गर्दै वर्षको अन्त्यसम्म थप उपलब्धी हासिल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँकाअनुसार युद्धभूमिमा रूसको स्थिति क्रमशः मजबुत बन्दै गएको छ ।
रूसको ठूलो र सुसज्जित सेनाले पछिल्ला महिनाहरूमा युक्रेनमा अपेक्षाकृत सुस्त भए पनि स्थिर प्रगति गर्दै आएको छ । यसै सन्दर्भमा आयोजित वार्षिक प्रत्यक्ष समाचार सम्मेलनलाई राष्ट्रव्यापी कल-इन कार्यक्रमसँग जोडिएको थियो, जसले देशभरका रुसी नागरिकहरूलाई करिब २५ वर्षदेखि देशको नेतृत्व गरिरहनुभएका राष्ट्रपति पुटिनलाई प्रत्यक्ष प्रश्न सोध्ने अवसर प्रदान गर्दछ । राष्ट्रपति पुटिनले यस मञ्चलाई आफ्नो राजनीतिक प्रभाव सुदृढ पार्न तथा घरेलु र अन्तर्राष्ट्रिय मामिलामा आफ्नो धारणा सार्वजनिक गर्न नियमित रूपमा प्रयोग गर्दै आउनुभएको छ ।
यस वर्षको सम्मेलनमा विशेषगरी युक्रेन युद्ध र त्यससँग सम्बन्धित अमेरिकी समर्थनमा अघि सारिएको शान्ति योजनामाथि राष्ट्रपति पुटिनले के प्रतिक्रिया दिनुहुन्छ भन्ने विषयलाई पर्यवेक्षकहरूले चासोका साथ हेरिरहेका थिए । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमा सेना पठाएपछि सुरू भएको करिब चार वर्ष लामो युद्ध अन्त्य गर्न व्यापक कूटनीतिक दबाब दिँदै आउनुभएको छ । तर वासिङ्टनको पहल मस्को र किएभका एक-अर्कासँग ठोक्किने मागहरूका कारण ठोस निष्कर्षमा पुग्न सकेको छैन ।
राष्ट्रपति पुटिनले द्वन्द्वका ‘मूल कारणहरू’ लाई सम्बोधन गर्ने शान्तिपूर्ण समाधानका लागि मस्को तयार रहेको दोहोर्याउनुभयो । यो अभिव्यक्तिलाई क्रेमलिनले अघि सारेका कडा सर्तहरूसँग जोडेर हेरिएको छ । यसै हप्ताको सुरूमा उहाँले किएभ र त्यसका पश्चिमी सहयोगीहरूले मस्कोका मागहरू अस्वीकार गरेमा रूसले युक्रेनमा आफ्नो सैन्य लाभ थप विस्तार गर्न खोज्ने चेतावनी पनि दिनुभएको थियो ।
रूसी नेताको चाहनाअनुसार हाल रूसी सेनाले नियन्त्रणमा लिएका युक्रेनका चार प्रमुख क्षेत्रहरूका साथै सन् २०१४ मा अवैध रूपमा अधिग्रहण गरिएको क्रिमियन प्रायद्वीपलाई रूसी भू-भागका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिनुपर्ने उहाँको अडान छ । साथै, उहाँले युक्रेनलाई पूर्वी युक्रेनका केही क्षेत्रहरूबाट फिर्ता लिन आग्रह गर्नुभएको छ, जहाँ हालसम्म मस्कोको सेनाले पूर्ण नियन्त्रण स्थापित गरिसकेको छैन । यी मागहरूलाई किएभले स्पष्ट रूपमा अस्वीकार गर्दै आएको छ ।-एपी