सिड्नी बोन्डी बिच घटना : गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीद्वारा ५९ वटा मुद्दा दर्ता

पुस २, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
सिड्नी बोन्डी बिच घटना : गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीद्वारा ५९ वटा मुद्दा दर्ता

काठमाडौं । सिड्नीको बोन्डी बिचमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ ।

नविद अकरमविरूद्ध न्यु साउथ वेल्स प्रहरीले दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, हतियारबाट गोली चलाएको, विस्फोटक पदार्थ राखेको र सार्वजनिक रूपमा आतङ्कवादी संगठनको चिन्ह प्रदर्शन गरेको अभियोग लगाइएको छ ।

१४ डिसेम्बरमा हनुक्का महोत्सवको पहिलो रातका दौरान गोली चलेको थियो । एक आक्रमणकारीसहित १६ जनाको ज्यान गएको थियो । बाबु-छोरा साजिद अकरम र नविद अकरमले गोली चलाएको सीसीटीभी फुटेजबाट पुष्टि भएको थियो । तीमध्ये प्रहरीको गोली प्रहारबाट ५० वर्षका साजिदको घटनास्थलमै मृत्यु भएको थियो ।

छोरा नविदलाई प्रहरीले पक्राउ गरेर अस्पताल लगेको थियो । अहिले उनको उपचार भइरहेको छ । उपचारपछि मात्रै नविदको बयान लिइने प्रहरीले जनाएको छ । अदालती प्रक्रिया अप्रिलसम्मका लागि सारिएको छ ।