
काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले ग्रीन कार्ड लटरी कार्यक्रम अर्थात् डाइभर्सिटी भिसा प्रोग्राम अस्थायी रूपमा रोक लगाइने घोषणा गर्नुभएको छ।
ब्राउन विश्वविद्यालय र एमआईटीसँग सम्बन्धित गोलीकाण्डका क्रममा पक्राउ परेको एक संदिग्ध यही लटरी कार्यक्रममार्फत अमेरिका प्रवेश गरेको खुलासा भएपछि उहाँले डिभी कार्यक्रम बन्द गर्नुभएको हो । राष्ट्रिय सुरक्षा सचिव क्रिस्टी नोएमले सामाजिक सञ्जाल एक्समा लेख्दै राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार युनाइटेड स्टेट्स सिटिजनसिप एन्ड इमिग्रेशन सर्भिसेज यूएससीआइएसलाई उक्त कार्यक्रम रोक्न आदेश दिने बताउनुभएको छ ।
नोएमले यो निलम्बन कति समयसम्म लागू रहने वा राष्ट्रिय सुरक्षा विभाग ले कुन प्रक्रियागत संयन्त्र प्रयोग गरिरहेको छ भन्नेबारे कुनै स्पष्ट विवरण नदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । डाइभर्सिटी भिसा (डीभी-वान) कार्यक्रम कंग्रेसले स्थापना गरेको कारणले यसमा स्थायी परिवर्तन गर्न वा यसलाई पूर्ण रूपमा खारेज गर्न कानुनी संशोधन आवश्यक पर्ने बताइएकोछ।
डाइभर्सिटी भिसा प्रोग्रामअन्तर्गत प्रत्येक वर्ष अमेरिकामा कम प्रतिनिधित्व भएका देशका नागरिकलाई लटरी प्रणालीमार्फत अधिकतम ५० हजारसम्मलाई ग्रीन कार्ड प्रदान गरिँदै आएको छ। यो लटरी प्रणाली धेरै वर्षअघि सुरू गरिएको हो। तथ्यांकअनुसार सन् २०२५ का लागि डाइभर्सिटी भिसा लटरीमा करिब २ करोड मानिसले आवेदन दिएका थिए। विजेता र उनीहरूका जीवनसाथीसमेत गरी १ लाख ३१ हजारभन्दा बढी व्यक्ति छनोटमा परेका थिए।
ट्रम्प लामो समयदेखि डाइभर्सिटी भिसा कार्यक्रमको विरोध गर्दै आउनुभएको थियो ।