
काठमाडौं । हङकङको ताइ पाओ जिल्लामा रहेको ‘वाङ फुक कोर्ट’ आवासीय भवनमा भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या ५५ पुगेको छ। आवासीय क्षेत्रको एउटा ३२ तले घरबाट हिजो दिउँसो सुरु भएको आगलागी अहिलेसम्म निभेको छैन।
त्यस क्षेत्रमा रहेका आठ भवनमध्ये सात वटा भवनमा आगो लागेको छ । २ सय ७० भन्दा बढी मानिस अझै सम्पर्कविहीन रहेको बीबीसीले जनाएको छ । हङकङका प्रमुख कार्यकारी जोन लीले आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको बताउनुभएको छ । उहाँले सम्पर्कविहीन भएकाहरुको खोजी र उद्दार तिब्र पारिएको जानकारी पनि दिनुभयो । प्रहरीले निर्माण कम्पनीका ३ जनालाई पक्राउ गरेको छ ।
प्रभावितहरुलाई विभिन्न व्यवसायीले राहत तथा नगद सहयोग गरेका छन् । अलिबाबा समूहले २ करोड हङकङ डलर सहयोगको घोषणा गरेको छ भने ठूला प्रविधि कम्पनीहरु टेन्सेन्ट, सिओमी र बाइटडान्सले १-१ करोड सहयोग दिने जनाएका छन् । यस्तै एन्टा कम्पनीले १ करोड नगद सहयोग र २ करोड बराबरको सामग्री दिने जनाएको छ ।
हिजो दिउँसो करिब तीन बजे सल्किएको आगोका कारण भवनभरि धुवाँ फैलिएको छ। आगो नियन्त्रणमा लिन ठूलो संख्यामा अग्नि नियन्त्रक परिचालन गरिएका छन्। उद्धार तथा खोजी कार्य निरन्तर जारी रहेको अधिकारीहरूले बताएका छन्। ती आवासीय भवनहरुमा २ हजारभन्दा बढी अपार्टमेन्ट रहेको र ४ हजार ८ सय जनाभन्दा बढी मानिसहरु बसोबास रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।