
काठमाडौं । अफगानिस्तानको दक्षिणपूर्वी खोस्त प्रान्तमा पाकिस्तानी सेनाले गरेको बम आक्रमणमा नाै बालबालिका र एक महिलाको मृत्यु भएको अफगान अधिकारीहरूले जनाएका छन् ।
तालिबान प्रशासनका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोमबार मध्यरातमा खोस्त प्रान्तको गुरबुज जिल्लामा आक्रमण भएको बताउनुभयो । सर्वसाधारणको घरमा आक्रमण भएको उहाँको भनाइ छ । पाकिस्तानले उत्तरपूर्वी कुनार र पूर्वी पक्तिका प्रान्तमा पनि हवाइ आक्रमण गरिरहेको अफगान अधिकारीहरूले जनाएका छन् ।
पाकिस्तानको पेशावरस्थित अर्धसैन्य बल कन्स्टेबुलरी फोर्सको मुख्यालयमा आत्मघाती आक्रमण भएको एक दिनपछि अफगानिस्तानमा पाकिस्तानी आक्रमण भएको हो । पेशावरमा भएको आक्रमणको जमात-उल-अहरार समूहले जिम्मेवारी लिएको थियो ।