
कपिलवस्तु । १६औं पटकसम्म हात्तीपाइलेको औषधि खुवाउँदा पनि रोग निवारण नभएपछि कपिलवस्तुमा १७औं पटक अभियान सुरू भएको छ ।
चेतनाको कमी, औषधि सेवन गर्दा कसै-कसैलाई हुने सामान्य समस्या देखेर अरूले नखाने प्रवृत्ति बढ्दा हात्तीपाइले रोग निवारण हुन सकेको छैन । मुलुकका ७२ जिल्लामा हात्तीपाइले निवारण भइसकेको छ । यस वर्ष कपिलवस्तुको ६ स्थानीय तहका ३ लाख ७४ हजारलाई हात्तीपाइलेविरूद्धको औषधि खुवाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
एक जना स्वास्थ्यकर्मी र एक जना महिला स्वास्थ्य स्वयंसेविका घरघर पुगेर औषधि सेवन गराइरहेका छन् । पहिले घरघरमा औषधि छाडेर आउने गरेकोमा अब स्वास्थ्यकर्मीको उपस्थितिमै खुवाएर फर्कने योजना बनाइएको छ । अभियान सकिएको दुई सातापछि अनुगमन टोली पठाएर औषधि छुटेको पहिचान भए खुवाउने कार्यक्रम छ ।
अभियान सकिएपछि कम्तिमा दुईपटक सघन अनुगमन गरेर यसपटक जिल्लाबाट हात्तीपाइले रोग निवारण गरी छाड्ने योजना छ । मंसिर ७ देखि जारी १५ दिने अभियान २१ गतेसम्म चल्ने छ । कपिलवस्तुसहित, बाँके, सर्लाही, रौतहट र झापामा हात्तीपाइले रोग निवारण भएको छैन । तर, बजेट अभावमा यस वर्ष कपिलवस्तुमा मात्रै अभियान चलाइएको छ ।
यसका लागि डब्लुएचओ नेपालले आर्थिक सहयोग गरेको छ । सन् २००७ देखि अभियान चलाइएको कपिलवस्तुमा सन् २०१३ मै हात्तीपाइले निवारण हुनुपर्ने थियो । ६ वर्ष अभियान चलाएर रक्त परीक्षण गर्दा ४ दशमलव ७ प्रतिशतमा हात्तीपाइलेको जीवाणु भेटियो । नेपालले सन् २०२० मै हात्तीपाइले निवारण गरिसक्ने लक्ष्य लिएको थियो । तर, उपलब्धी हुन नसकेपछि सन् २०३० को नयाँ लक्ष्य लिइएको छ ।
लामखुट्टेबाट सर्ने यो रोग लागेर हात खुट्टा सुन्नियो भने जिन्दगीभर सञ्चाे हुँदैन । असक्त भएर कष्टकर जीवनयापन गर्नुपर्छ । करूप र शारीरिक असमर्थता हुन्छ । तर, अण्डकोष र शरीरका अन्य भागमा हुने समस्या भने निको पार्न सकिन्छ । अशिक्षा र चेतना अभावले औषधी सेवनमा देखिएको अविश्वास हात्तीपाइले निवारणमा चुनौती बनेको छ ।
हात्तीपाइलेविरूद्धको औषधि दुई वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घरोगी, एक हप्ता नपुगेका सुत्केरीले खान हुँदैन । यस वर्ष एलबेन्डाजोल, डिईसी र आईभर मेट्रिन गरी तीन प्रकारको औषधि खुवाइँदैछ । यसले हात्तीपाइलेविरहद्धमात्र नभएर दाद-लुतो पनि निको पार्छ ।