थाइ सीमामा सञ्चालित अनलाइन ठगी केन्द्रमा म्यानमार सेनाको छापा

३ सय ४६ विदेशीसहित ३ सय ५० जना पक्राउ, १० हजार मोबाइलसमेत जफत
मंसिर ३, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
थाइ सीमामा सञ्चालित अनलाइन ठगी केन्द्रमा म्यानमार सेनाको छापा
Photo Source : Aljajeera

काठमाडौं । म्यानमारको सेनाले थाइल्यान्डको सीमास्थित अनलाइन ठगी केन्द्रमा छापा मारेर ३ सय ५० जना पक्राउ गरेको छ ।

सेनाले मंगलबार बिहान जुवा र अनलाइन ठगीको केन्द्र श्वे कोक्को क्षेत्रमा कारबाही गरेको सरकारी सञ्चारमाध्यम द ग्लोबल न्यू लाइट अफ म्यानमारले जनाएको छ। कारबाहीका क्रममा ३ सय ४६ विदेशी नागरिकलाई पक्राउ गर्नुका साथै अनलाइन ठगीमा प्रयोग हुने १० हजार थान मोइबाल फोनसमेत जफत गरिएको छ ।

कोभिड महामारीपछि थाइल्यान्ड, म्यानमार, लाओस र कम्बोडियालाई जोड्ने सीमावर्ती क्षेत्रहरू अनलाइन ठगी केन्द्रका रूपमा प्रयोग हुँदै आएका छन् । राष्ट्रसंघका अनुसार रोजगारीको प्रलोभन देखाएर विभिन्न देशबाट लगिएकाहरूलाई यी क्षेत्रमा सञ्चालित केन्द्रमा जबर्जस्ती ठगीमा लगाइने गरिएको छ ।

चीनले दबाब दिएपछि म्यानमार सरकारले त्यस्ता केन्द्रमा कारबाही गरेको हो । गत अक्टोबरमा पनि म्यानमारको सेनाले थाइल्यान्डको सीमामा रहेको कुख्यात ठगी केन्द्र केके पार्कमा छापा मारेर दुई हजार भन्दा बढी मानिसलाई पक्राउ गरेको थियो ।