
काठमाडौं । बंगलादेश सरकारले मृत्युदण्डको सजाय सुनाइएकी पूर्वप्रधानमन्त्री शेख हसिनाका कुनै पनि अभिव्यक्ति प्रकाशन-प्रसारण नगर्न सञ्चारमाध्यमहरूलाई निर्देशन दिएको छ ।
राष्ट्रिय साइबर सुरक्षा एजेन्सी-एनसीएसएले विज्ञप्ति जारी गर्दै छापा, विद्युतीय तथा अनलाइन सञ्चारमाध्यमहरूलाई हसिनाका अभिव्यक्ति प्रकाशन प्रसारण नगर्न निर्देशन दिएको बंगलादेशको डेली स्टारले जनाएको छ । एनसीएसएले हिंसा, अव्यवस्था तथा आपराधिक गतिविधिलाई उक्साउन सक्ने र सामाजिक सद्भावलाई खलल पार्न सक्ने भन्दै दोषी ठहर भएकी र फरार शेख हसिनाका अभिव्यक्ति प्रकाशन प्रसारण नगर्न आग्रह गरेको हो ।
एनसीएसले सबै सञ्चारमाध्यमलाई यस्ता सामग्री प्रकाशन-प्रसारण गर्नबाट जोगिन र आफ्नो कानुनी जिम्मेवारीप्रति सचेत रहन आह्वान गरेको छ । उक्त निकायले दोषी ठहरिएका र फरार व्यक्तिको बयान प्रसारण गर्नु साइबर सुरक्षा अध्यादेश २०२५ को उल्लंघन हुने उल्लेख गरेको छ ।
यसो गर्नेलाई सामग्री हटाउन वा ब्लक गरिने व्यवस्था कानुनमा छ । यसैगरी, अधिकतम दुई वर्षको जेल सजाय र अधिकतम १० लाख टाका जरिवाना गरिने व्यवस्था पनि छ । यद्यपि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरिने पनि एनसीएसएले उल्लेख गरेको छ । अदालतको फैसलापछि सोमबार राति ढाकामा तनावपूर्ण माहोल थियो भने हिंसामा दुई जनाको मृत्यु भएको जनाइएको छ ।