
काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले बीबीसीविरूद्ध कानुनी प्रकियामा जाने बताउनुभएको छ ।
बीबीसीले पानोरामा डकुमेन्ट्रीको सम्पादनबारे प्रश्न उठेपछि माफी मागे पनि क्षतिपूर्ति दिन अस्वीकार गरेपछि ट्रम्पले कानुनी प्रक्रियामा जाने बताउनुभएको हो । शुक्रबार साँझ एयरफोर्स वानमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले बीबीसीमाथि अर्को साता १ अर्बदेखि ५ अर्ब डलरसम्मको मुद्दा दायर गर्ने बताउनुभएको हो ।
पानारोमा सिरिजअन्तर्गतको 'ट्रम्पस् अ सेकन्ड चान्स' डकुमेन्ट्रीमा प्रयोग गरिएको राष्ट्रपति ट्रम्पको भाषणको अंशलाई लिएर बीबीसीमाथि प्रश्न उठेपछि महाप्रबन्धक टिम डेभी र समाचार विभाग प्रमुख डेबोरा टर्नेसले गत आइतबार राजीनामा दिएका थिए । उक्त वृत्तचित्र सन् २०२४ को अमेरिकी चुनावको एक साताअघि प्रसारणमा आएको थियो ।
गत साता बेलायती पत्रिका टेलिग्राफमा बीबीसीको विश्वसनीयतामाथि प्रश्न गर्दै समाचार प्रकाशित भएपछि यो डकुमेन्ट्री विवादमा तानिएको हो । ट्रम्पले ६ जनवरी २०२१ मा वासिङ्टन डीसीमा गरेको भाषणसम्बन्धी वृत्तचित्र बीबीसीमा प्रसारण भएको थियो ।