
काठमाडौं । भारतको बिहार राज्यमा भएको विधान सभा निर्वाचनको प्रारम्भिक मतगणनामा एनडीए गठबन्धनले अग्रता लिएको छ ।
एनडीए गठबन्धनले १ सय ८० भन्दा धेरै सिटमा अग्रता बनाएको हो । गठबन्धनका घटकमध्ये भारतीय जनता पार्टी (भाजपा) ८३, जनता दल युनाइटेड (जदयू) ७९ र लोक जनशक्ति पार्टी राम विलासले २२ स्थानमा अग्रता बनाएका छन् । महागठबन्धनले ४९ स्थानमा अग्रता बनाएको छ । यस गठबन्धनका मुख्य घटक राष्ट्रिय जनशक्ति पार्टी (राजद) ३२ , कंग्रेस ६ र भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेलिनवादी ) ६ स्थानमा अघि छन् ।
स्थानीय समयअनुसार बिहान ८ बजेदेखि मतगणना सुरू भएको हो । यही नोभेम्बर ६ र ११ मा दुई चरणमा कुल २ सय ४३ सिटका लागि चुनाव भएको थियो । निर्वाचनमा ६६ दशमलव ९१ प्रतिशत मत खसेको भारतको निर्वाचन आयोगले जनाएको छ । भारतको स्वतन्त्रतायता बिहार राज्यमा भएका कुनै पनि निर्वाचनमा यति धेरै मत खसेको यो पहिलोपटक हो ।
निर्वाचनमा पुरूषको दाँजोमा महिलाले धेरै मतदान गरेका छन् । कुल मतमध्ये ७१ दशमलव ६ प्रतिशत महिला र ६२ दशमलव ८ प्रतिशत पुरूषको छ ।