
काठमाडौं । दिल्ली बम विष्फोट घटनासँग सम्बन्धित व्यक्तिहरूलाई पक्राउ गर्न जम्मु–कश्मीर, हरियाणा र उत्तर प्रदेशमा प्रहरी तथा एटीएसले पाँच सयभन्दा बढी ठाउँमा एकैसाथ छापा मारेका छन्।
जम्मु–कश्मीरमा प्रतिबन्धित संगठन ‘जमात-ए-इस्लामी’सँग सम्बन्धित १० जिल्लाका करिब पाँच सयभन्दा बढी स्थानमा छापा मारेको प्रहरीले जनाएको हो ।
आतंकवादसँग सम्बन्धित कागजात, डिजिटल उपकरण र अन्य प्रमाण सङ्कलन गर्न प्रहरीले अनुसन्धान तीब्र पारेको हो । पछिल्ला पाँच दिनभित्र पाँच सयभन्दा बढी शंकास्पद व्यक्तिहरुसँग सोधपुछ भइसकेको पनि प्रहरीले जनाएको छ । हरियाणामा डा मुजम्मिलसँग सम्बन्धित करिब ७ ठाउँमा छापा मारिएको छ। जम्मु–कश्मीर प्रहरीले श्रीनगरमा कार्यरत डा तजामुललाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ भने हरियाणाको मेवात क्षेत्रबाट मौलवी इश्तियाकलाई पक्राउ गरिएको छ।
अनुसन्धान निकायका अनुसार आतंकवादीहरूको निशानामा गुरुग्राम र फरीदाबादसहित देशभरका रेल स्टेशन र ठूला सपिङ लबहरू पनि रहेका थिए। उनीहरू धार्मिक स्थलहरूमा हमला गरी देशभर साम्प्रदायिक तनाव फैलाउने योजनामा थिए। यसका लागि उनीहरूले कश्मीरका पुलवामा, सोपियन र अनन्तनागका केही चिकित्सकहरूलाई रोजेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।