
काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प एसिया भ्रमणका क्रममा दक्षिण कोरिया पुग्नुभएको छ।
ट्रम्प मलेसिया, जापान हुँदै बुधबार दक्षिण कोरिया पुग्नुभएको छ । ट्रम्पको भ्रमणका क्रममा दुई देश प्रविधिसम्बन्धी सहकार्य गर्न सहमत भएका छन् । अमेरिका र दक्षिण कोरियाले कृत्रिम बौद्धिकता र क्वान्टम कम्प्युटिङलगायतका प्रविधिमा सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको ह्वाइट हाउसले जनाएको छ ।
सहमतिमा संयुक्त एआई नीति ढाँचा विकास गर्ने, एआई निर्यात प्रवर्द्धनमा मिलेर काम गर्ने, अन्तरिक्ष अनुसन्धानमा सहकार्य गर्ने लगायतका विषय उल्लेख छ । ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङबीच व्यापार तथा रक्षा विषयमा छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
दक्षिण कोरिया भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले एपेक बिजनेस लिडर्स समिटलाई समेत सम्बोधन गर्नुभएको थियो । ट्रम्पले आजै चिनियाँ समकक्षीसी चिनफिङसँग भेटवार्ता गर्दै हुनुहुन्छ । ट्रम्पको भ्रमणका क्रममा सिओलको गेन्जु संग्रहालयअगाडि ट्रम्पविरोधी प्रदर्शनसमेत भएको थियो ।