
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले गाजामा ध्वस्त बनेको स्वास्थ्य क्षेत्रको पुनर्निर्माणका लागि कम्तिमा सात अर्ब डलर आवश्यक पर्ने बताएको छ।
विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले इजरायली आक्रमणमा गाजाका अस्पतालहरूसमेत निशानामा परेको बताउनुभएको हो । उहाँका अनुसार अहिले गाजामा पूर्ण क्षमता काम गर्ने अस्पतालहरू छैनन् र ३६ मध्ये १४ वटा अस्पतालबाट मात्र सेवा प्रदान भइरहेको छ ।
यसैबीच अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजे) ले संयुक्त राष्ट्र सङ्घ र यसका एजेन्सीहरूलाई गाजामा मानवीय सहायता पुर्याउन अनुमति दिनु इजरायलको कानुनी दायित्व भएको बताएको छ । इजरायलको अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत गाजामा रहेका प्यालेस्टिनी नागरिकहरूलाई खाना, पानी, औषधी र आश्रय जस्ता आधारभूत आवश्यकताहरू प्रदान गर्ने जिम्मेवारी भएको अदालतले भनेको छ ।
इजरायलले संयुक्त राष्ट्र सङ्घको प्यालेस्टिनी शरणार्थी एजेन्सी निष्पक्ष नभएको वा यसका कर्मचारीहरू हमास जस्ता सशस्त्र समूहहरूसँग सम्बद्ध छन् भन्ने आफ्नो आरोपलाई प्रमाणित गर्न असफल भएको पनि अदालतले भनेको छ ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले अदालतको निर्णयलाई धेरै महत्त्वपूर्ण भन्नु भएको छ । इजरायलले रायको सम्मान गर्नेछ र मानवीय सहायतामा अवरोधहरू हटाउने उहाँले आशा गर्नुभएको छ ।