काठमाडौं । म्यानमारमा बौद्ध महोत्सवमा बम आक्रमण हुँदा कम्तिमा २४ जनाको मृत्यु भएको छ ।
मध्य म्यानमारको चाउङ- यु शहरमा धार्मिक उत्सव मनाइरहेको समयमा मोटराइज्ड प्याराग्लाइडरबाट बम आक्रमण भएको हो । आक्रमणमा अरु ४७ जना घाइते भएको बीबीसीले जनाएको छ । निर्वासित राष्ट्रिय एकता सरकारका प्रवक्ताका अनुसार हिजो साँझ चाउङ-यू टाउनसीपमा भएको बौद्ध धार्मिक महोत्सवमा झन्डै १ सय जना सहभागी भइरहेका बेला भीडमाथि दुई वटा बम खसालिएको हो ।
यो उत्सवमा सैन्य सरकारविरुद्धमा मैनबत्ती बालेर विरोध प्रदर्शन पनि भइरहेको थियो । सन् २०२१ मा भएको सैन्य कू यता म्यानमारमा गृहयुद्ध भइरहेको छ । अहिलेसम्म द्वन्द्वमा ५ हजारभन्दा बढी नागरिक मारिएको संयुक्त राष्ट्र संघले जनाएको छ ।