इजरायली सेनाद्वारा गाजा सिटीमा रिमोट नियन्त्रित बिस्फोटक पदार्थ प्रयोग गरेर आक्रमण

दर्जनौं भवन पूर्ण रुपमा नष्ट, ट्रम्पको शान्ति योजनामा हमासले चाँडै धारणा सार्वजनिक गर्ने
आश्विन १७, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
इजरायली सेनाद्वारा गाजा सिटीमा रिमोट नियन्त्रित बिस्फोटक पदार्थ प्रयोग गरेर आक्रमण

काठमाडौं । इजरायली सेनाले गाजा सिटीको अत्यधिक जनघनत्व भएको क्षेत्रमा रिमोट नियन्त्रित सवारीसाधन र बिस्फोटक पदार्थसहितको रोबोट प्रयोग गरेर बिस्फोट गराउन थालेको छ ।

रातको समयमा राखिने यस्ता बिस्फोटक पदार्थ बिहान विना चेतावनी बिस्फोट गराउँदा गाजा सिटीमा ठूलो हताहती हुने गरेको अल-जजिराले जनाएको छ । आक्रमणबाट आवासीय भवनहरू ठूलो संख्यामा पूर्ण रूपमा नष्ट भएका छन् भने ढलेका भवनमुनि थुप्रै मानिस पुरिएको अनुमान गरिएको छ । 

यसअघि हवाइ आक्रमणमार्फत् गाजाका बहुतले भवनलाई निशाना बनाएको इजरायली सेनाले रिमोट नियन्त्रित आक्रमणको नयाँ रणनीति अपनाइरहेको हो । स्थल कारबाही तीब्र पारेको इजरायली सेनाले गाजा सिटीको केन्द्रतर्फ अघि बढेको छ भने स्थानीय बासिन्दालाई पश्चिमी तथा दक्षिणी तटीय क्षेत्रमा जान दबाब दिइरहेको छ । अहिले दक्षिणतर्फ जाने सडकमात्र खुला गरिएको छ ।

यसैबीच, हमासले अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पको २० बुँदे शान्ति योजनाबारे चाँडै आफ्ना धारणा सार्वजनिक गरिने जनाएको छ । हमासका राजनीतिक ब्यूरो सदस्य मोहम्मद नज्जालले ट्रम्पको योजनाबारे छलफल भइरहेकाले चाँडै नै धारणा सार्वजनिक गरिने बताएको अल-जजिराले जनाएको छ । 

ट्रम्पले दिएको समयसीमा अनुसार हमासले आजै प्रतिक्रिया जनाउने अनुमान गरएको छ । यसैसाता ट्रम्पले तत्काल यु्द्धविराम, दुवै पक्षद्वारा बन्दी रिहाइ, इजरायली सेना गाजाबाट फिर्ता, हमासले हतियार बिसाउने र अन्तर्राष्ट्रिय संलग्नतामा संक्रमणकालीन सरकार गठनसहितको योजना सार्वजनिक गर्नुभएको थियो । 

हमास यो योजनामा पनि सहमत नभए इजरायलको कारबाहीमा आफ्नो समर्थन रहने ट्रम्पले चेतावनी दिनुभएको छ ।