काठमाडौं । भारतको केन्द्रशासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको मान्यता दिन र संविधानको छैंटौ अनुसूचीमा समावेश गर्न माग गर्दै मंगलबार लेहमा हिंसात्मक प्रदर्शन भएको छ।
पूर्ण राज्यको माग गर्दै पर्यावरणविद् एवं सामाजिक कार्यकर्ता सोनाम वाङचुकले २ सातादेखि जारी राखेको अनसनको समर्थनमा युवाहरु प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारीहरुले भारतीय जनता पार्टीको कार्यालयमा आगजनी गर्नुका साथै लेह हिल काउन्सिलको भवनसमेत तोडफोड गरेका छन् ।
सो क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपसमेत भएको थियो । अभियन्ता सोनाम वाङचुकले भिडियो सन्देश जारी गर्दै शान्ति कायम गर्न अपील गर्नुभएको छ । उहाँले सन्देशमा ३५ दिनदेखि अनसनमा रहेकामध्ये २ जनाको स्वास्थ्यस्थिति बिग्रँदै गएपछि हजारौं युवा सडकमा आएको उल्लेख गर्दै यसलाई जेन-जी क्रान्ति पनि भन्नु भएको छ ।
उहाँले अनसनसमेत तोडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । केन्द्र र लद्दाखका प्रतिनिधिबीच आगामी ६ अक्टोबरमा तय गरिएको वार्ताअघि नै हिंसात्मक प्रदर्शन भएको हो ।