काठमाडौं । फ्रान्सले औपचारिक रूपमा प्यालेस्टिनी राज्यलाई मान्यता दिएको छ ।
न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्दै फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले गाजामा भइरहेको युद्ध औचित्यहीन भएको भन्दै शान्ति कायम गर्न आफूहरू प्रतिबद्ध भएको बताउनुभयो ।
फ्रान्स र साउदी अरेबियाले संयुक्त राष्ट्रसंघीय महासभामा एक दिने शिखर सम्मेलन आयोजना गरिरहेका छन् । यो सम्मेलन इजरायल-प्यालेस्टाइन विवाद समाधानमा केन्द्रित रहेको जनाइएको छ । सम्मेलनमा जर्मनी, इटाली र संयुक्त राज्य अमेरिका भने सहभागी भएनन् ।
बेल्जियम, लक्जेम्बर्ग, माल्टा, एन्डोरा र सान मारिनोले पनि प्यालेस्टिनी राज्यलाई मान्यता दिने बताएका छन् । यसअघि आइतबार बेलायत, क्यानडा, अस्ट्रेलिया र पोर्चुगलले मान्यता दिने घोषणा गरेका थिए।
गाजामा भइरहेको मानवीय सङ्कट र वेस्ट बैंकमा बस्ती निर्माणका कारण इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ। इजरायलले भने ती देशहरूले मान्यता दिनु भनेको ७ अक्टोबर २०२३ मा दक्षिण इजरायलमा प्यालेस्टिनी सशस्त्र समूह हमासले गरेको आक्रमणलाई पुरस्कार दिने कार्य हो भन्ने दाबी गरेको छ ।
उक्त आक्रमणमा झन्डै १२ सय जना मारिएका थिए र २ सय ५१ जनालाई बन्धक बनाइएको थियो । त्यसयता, गाजाको हमास-नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली आक्रमणमा ६५ हजार भन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।