काठमाडौं । वर्षकै शक्तिशाली आँधी रागासाका कारण हुन सक्ने क्षतिको पूर्वतयारीका लागि चीनको दक्षिणी प्रान्त ग्वाङडोङमा २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
आँधी फिलिपिन्स, मकाउ, ताइवान हुँदै अहिले ग्वाङडोङतर्फ अघि बढिरहेको बताइएको छ । बाढी तथा पहिरोको जोखिममा रहेका व्यक्तिहरुको सुरक्षाका लागि प्रान्तीय आपतकालीन व्यवस्थापन विभाग सक्रिय भएको छ ।
यस्तै, १० हजारभन्दा बढी पानीजहाजहरु सुरक्षित स्थानतर्फ सारिएको छ भने ३८ हजार अग्निनियन्त्रकहरु तयारी अवस्थामा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
ग्वाङडोङको पहाडी क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ । चिनियाँ मौसमविद्हरुद्वारा 'आँधीको राजा' नाम दिइएको रागासाले ताइवानमा भिषण बाढी आउँदा ठूलो क्षति गरेको छ ।
त्यहाँ १४ जनाको मृत्यु भएको छ भने १ सय २४ जना हराइरहेका छन् । बाढीका कारण हालसालै बनेको तालको प्राकृतिक बाँध भत्किएपछि ग्वाङफु शहर डुबानमा परेको थियो । हङकङ तथा मकाउमा विद्यालय, कार्यालय, सार्वजनिक यातायात तथा विमानस्थल बन्द गरिएका छन् । हङकङको मौसम निकायले केही क्षेत्रमा ४ मिटरसम्म अग्लो छाल आउन सक्ने चेतावनी दिएको छ ।