काठमाडौं । यस वर्षकै शक्तिशाली मानिएको सामुद्रिक आँधी 'रागासा' का कारण चीन, हङकङ तथा मकाउमा विद्यालय, उद्योग व्यवसायदेखि उडानसम्म बन्द गरिएका छन् ।
उत्तरी फिलिपिन्समा क्षतिका साथ पश्चिम तथा उत्तरपश्चिमतर्फ अघि बढेको आँधीका कारण बुधबार ग्वाङडोङ प्रान्तको शेन्जेन र सुवेन काउन्टीबीचको तटीय क्षेत्रमा क्षति पुर्याउने अनुमान गरिएको चिनियाँ मौसम निकायले जनाएको छ।
शेन्जेनमा ४ लाख मानिसलाई सुरक्षित स्थानतर्फ सार्ने योजना बनाइएको छ । यस्तै, हङकङ र मकाउमा पनि विद्यालय बन्द गरिएका छन् । हङकङमा सयौं उडान रद्ध गरिएका छन् भने मंगलबार रातिबाट शेन्जेन विमानस्थलसमेत बन्द गरिँदैछ ।
मकाउ सरकारले पनि आपतकालीन संयन्त्रलाई सक्रिय बनाएको छ । त्यहाँ बुधबार बिहान १ सय किलोमिटर प्रतिघण्टाका दरले आँधी आइपुग्ने अनुमान गरिएको छ ।आँधीबाट निम्तिएको भारी वर्षा, डुबान तथा बाढीका कारण फिलिपिन्समा ३ जनाको मृत्यु भएको छ भने हजारौं विस्थापित भएका छन् ।
ताइवानमा कम्तिमा पनि ६ जना घाइते भएका छन् भने ७ हजार मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ । ताइवानको दक्षिणी क्षेत्रलाई प्रभाव पारेको आँधीका कारण ८ हजार घरमा विद्युत आपूर्ति अवरूद्ध भएको छ ।