काठमाडौं । फिलिपिन्समा भ्रष्टाचारविरूद्धको आन्दोलन सुरू भएको छ ।
सांसद, अधिकारी र व्यवसायीहरू संलग्न भएको भनिएको बाढी नियन्त्रण परियोजनाको ठूलो घुसघोरी प्रकरणले आक्रोश बढेपछि हजारौँ प्रदर्शनकारीहरू फिलिपिन्सको राजधानी मनिलामा सडकमा उत्रिएका हुन् ।
हिंसा रोक्न प्रहरी र सेनालाई सतर्क अवस्थामा राखिएको छ। ऐतिहासिक मनिला पार्क र राजधानी क्षेत्रको इड्सा राजमार्ग नजिक लोकतन्त्र स्मारक वरिपरि छुट्टै प्रदर्शनस्थलहरूमा सुरक्षाका लागि हजारौँ प्रहरी तैनाथ गरिएका छन् । आयोजकहरूले यसलाई हालका वर्षहरूमा भ्रष्टाचारविरोधी सबैभन्दा ठूलो प्रदर्शन भएको बताएका छन् ।
संयुक्त राज्य अमेरिका र अस्ट्रेलियाका दूतावासहरूले आफ्ना नागरिकलाई प्रदर्शन क्षेत्रबाट टाढा रहन सचेत गराएका छन् । प्रदर्शनकारीहरूले फिलिपिन्सको झण्डा बोकेर ‘अब छैन, धेरै, तिनीहरूलाई जेलमा हाल’ भन्ने नारासहितका ब्यानर देखाउँदै दोषीहरूलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।
मिडियामा धनी दम्पत्ति सारा र प्यासिफो डिस्कायाले आफ्ना दर्जनौँ लक्जरी कार र एसयुभी प्रदर्शन गरेपछि जनआक्रोश चर्किएको थियो । उनीहरूले चार करोड २० लाख पेसो अर्थात् सात लाख ३७ हजार डलर बराबरको ब्रिटिस लक्जरी कार किन्दा निःशुल्क उपहारहरू पाएको भन्दै देखाएका थिए ।
सिनेट सुनुवाइमा दम्पत्ति कम्तिमा १७ सांसद र उच्च अधिकारीलाई ठेक्का दिलाउन ठूलो किकब्याक तिर्न बाध्य पारिएको खुलासा गरेका थिए । सिनेट अध्यक्ष फ्रान्सिस एस्कुडेरो र सभामुख मार्टिन रोमाल्डेजले राजीनामा दिएका छन् ।
भ्रष्टाचारमा संलग्न कम्तिमा तीन इन्जिनियर बर्खास्त भएका छन् भने १५ जनामाथि थप अनुसन्धान भइरहेको छ । सबैले आपराधिक मुद्दा सामना गर्नेछन् र उनीहरूको सम्पत्ति, घर, कार र बैंक खाता फ्रिज गरिने जनाइएको छ ।