तुइन खोलाको पहिरो हटाउन तीब्र गतिमा काम

आश्विन ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
तुइन खोलाको पहिरो हटाउन तीब्र गतिमा काम

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डको तुइनखोला पुलनजिकै गएको पहिरो हटाएर आजै यातायात खुलाउन तिव्र गतिमा काम भइरहेको छ । सडक विभागले एकतर्फी मात्रै भए पनि यातायात खुलाउने गरी सडकमा खसेको पहिरो पन्छाउन फ्लड लाइट बालेर काम गरिरहेको हो ।

आज बिहान साढे पाँच बजेदेखि नै पहिरो पन्छाउन नारायणगढ र मुग्लिनतर्फबाट पाँचवटा उपकरण निरन्तर रूपमा परिचालन भइरहेका छन् । तर, साँघुरो ठाउँका कारण धरै उपकरणहरू एकै पटक सञ्चालनमा गर्न सकिएको छैन। यातायात खुलेको अवस्थामा पनि जोखिक कायमै रहने भन्दै वैकल्पिक मार्गको प्रयोग गर्न सडक विभागले आग्रह गरेको छ । लामो समयसम्म बाटो अवरुद्ध हुँदा दशैंमा घर जाने हजारौं यात्रु मारमा परेका छन् । यो खण्ढ मंगलबार दिउँसोदेखि पूर्णरूपमा बन्द भएको हो । मुग्लिन–नारायणगढ सडकको विकल्पमा तनहुँको खैरेनीटार हुँदै डेढगाउँ निस्कने मार्ग प्रयोग गर्न सकिन्छ । साना सवारीसाधनका लागि यो सडक उपयुक्त छ । त्यसका लागि दमौली–खैरेनीटारबाट बायाँतर्फबाट भीमाद–मानपुर हुँदै डेढगाउँ–वुलिङटार–ढोडेनी–गैँडाकोट पुग्न सकिन्छ। मुग्लिनदेखि खैरनीटारसम्म ७० किमि दूरी छ । खैरेनीटार–भीमाद कालोपत्र सडक सात किलोमिटर र भीमाद–मानपुर कच्चीसडक ३५ किलोमिटर छ । मानपुर–डेढगाउँ कालोपत्रे ४० किमि, डेढगाउँदेखि नारायणगढ ७० किमी रहेको छ ।

यसैबीच धादिङको बेनीघाट रोराङ गाउँपालिका १० जवाङखोलामा पहिरो खसेर गएरातिदेखि अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । पहिरो पन्छाएर आज मध्यान्हदेखि यातायात दुईतर्फी सडक खुलाइएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.