काठमाडौं । प्यालेस्टिनी समूह हमासको सैन्य शाखाले नेपाली विद्यार्थी विपीन जोशीसहित आफ्नो नियन्त्रणमा रहेका ४८ बन्धकको तस्बिर सार्वजनिक गरेको छ ।
हमासले 'बिदाइ तस्बिर' भन्दै 'रोन अराड' नाम दिएर तस्बिर सार्वजनिक गरेको अल-जजिराले जनाएको छ । सबै तस्बिरलाई ’रोन अराड’ नाम दिइएको छ । विपिनको तस्बिर ३८ औं नम्बरमा राखिएको छ।
रोन अराड सन् १९८६ मा लेबनानबाट बेपत्ता भएका इजरायली वायु सेनाका क्याप्टेनको नाम हो । उनलाई अमाल मुभमेन्टका लडाकूले नियन्त्रणमा लिएर हेजबोल्लाहलाई हस्तान्तरण गरिएको थियो । उनी मारिइसकेको विश्वास गरिए पनि प्रमाण भने भेटिएको छैन ।
तस्बिरमा नेतन्याहुको अस्वीकृति र जामिरको आत्मसमर्पणका कारण गाजा सहरमा सैन्य कारबाही सुरु हुँदै गर्दा एक बिदाइ तस्बिर सार्वजनिक गरिएको उल्लेख गरिएको छ ।
इजरायली प्रधानमन्त्री नेतन्याहुले हमाससँग कुनै पनि सम्झौता गर्न अस्वीकार गर्दै आउनुभएको छ । हमासले इजरायलको स्थल कारबाहीका कारण बन्धकको जीवन खतरामा पर्ने चेतावनी दिँदै आएका बेला सामूहिक तस्बिर सार्वजनिक गरेको हो ।