काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले अफगानिस्तानको बगराम एयरबेस फिर्ताको माग गरिरहेका बेला अफगानी अधिकारीहरूले अफगानिस्तानको एक इन्च जमिनमाथि पनि सम्झौता नगरिने दृढता व्यक्त गरेका छन् ।
अफगान रक्षा मन्त्रालयका चिफ अफ स्टाफ फासिहुद्दीन फितरतले बगराम एयरबेसमाथि सम्झौता ‘सम्भव नभएको’ स्पष्ट पार्दै आपत्ति जनाउनुभएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा बगराम एयरबेस फिर्ता नभए भयानक हुने चेतावनी दिनुभएको थियो ।
राजधानी काबुलको उत्तरमा रहेको बगराम तालिबानविरूद्धको २० वर्ष लामो युद्धमा अमेरिकी सेनाको प्रमुख केन्द्र रहेको थियो । अमेरिकी सेना फिर्ता भएको चार वर्षपछि ट्रम्पले उक्त एयरबेस फिर्ता नदिए सजाय दिने चेतावनी दिनुभएको हो ।
तालिबान सरकारले ‘अफगानिस्तानको स्वतन्त्रता र क्षेत्रीय अखण्डता अत्यन्त महत्त्वपूर्ण’ रहेको पनि दोहोर्याएको छ । बगराम एयरबेस सन् १९५० को दशकमा सोभियत सहयोगमा बनेको हो ।
पछि शीतयुद्धकालीन अमेरिकी सहयोगमा विस्तार भयो र सोभियत कब्जाको समयमा मस्कोले अझ ठूलो बनायो । सन् २०१० पछि अमेरिकी नियन्त्रणमा बगराम सानो सहर जस्तै बनेको थियो, जसमा सुपरमार्केटदेखि बर्गर किङसम्मका पसलरू थिए ।