काठमाडौं । पोर्चुगलको राजधानी लिस्बनमा पर्यटकबीच लोकप्रिय फनिकुलर रेल अर्थात केबल रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ। दुर्घटनामा कैयौँ घाइते भएका छन् भने केही अझै फसेको बताइएको छ।
दुर्घटनापछि उद्धार टोली, प्रहरी र दमकलकर्मीहरू घटनास्थलमा परिचालन भएका छन्।
सुरुमा ३ जनाको मृत्यु भएको पुष्टि भए पनि पछिल्लो विवरणअनुसार मृतक सङ्ख्या १५ पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। घाइतेमध्ये कम्तिमा ९ जनाको अवस्था गम्भीर छ। लिस्बनका मेयर कार्लोस मोएदासले यसलाई “सहरका लागि अति दुःखद दिन” भन्दै पीडित परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।
सन् १८८५ मा सञ्चालनमा आएको ग्लोरिया फनिकुलर लिस्बनको ऐतिहासिक पर्यटकीय आकर्षणमध्ये एक हो। दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन भने प्रहरीको विशेष टोलीले छानबिन सुरु गरेको छ। पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सोसाले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितप्रति समवेदना प्रकट गर्नुभएको छ ।