
काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले सर्लाही क्षेत्र नम्बर ४ को उम्मेदवारीले आफूलाई राजनीतिक रूपमा पूर्णता दिएको बताउनुभएको छ ।
काठमाडौंको मैतीदेवीस्थित मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले मधेसको बसाइले आफ्नो दृष्टिकोण र सोच्ने तरिका नै बदलिदिएको बताउनुभएको हो । विगतका निर्वाचनहरूमा आफैँ उम्मेदवार हुँदा आफैँलाई मत हाल्ने गरेको स्मरण गर्दै उहाँले यसपटक भने युवा उम्मेदवार सचिन तिमल्सिनालाई मतदान गर्न पाउँदा निकै खुशी लागेको बताउनु भयो । आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ को अवस्थाबारे जानकारी दिँदै थापाले दुईवटा मतदान केन्द्रमा सामान्य तनाव भएर केहीबेर मतदान रोकिए पनि सर्वदलीय छलफलपछि पुनः सुरु भएको जानकारी दिनुभयो ।
विगतमा मधेसलाई बाहिरबाट मात्रै हेरेको र त्यहाँको वास्तविक अवस्था थाहा नपाएकोमा एक राजनीतिज्ञको रूपमा आफूलाई लज्जा महशुस भएको उहाँले स्वीकार गर्नुभयो । सर्लाही–४ को अनुभवले आफूलाई देश हेर्ने नयाँ दृष्टिकोण दिएको र राजनीतिक रूपमा पूर्ण बनाएको उहाँको भनाइ छ ।