काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ-उनले चीनको राजधानी बेइजिङमा भेटवार्ता गर्नुभएको छ ।
दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सवका अवसरमा चिनियाँ राजधानीको मुटुमै आयोजना गरिएको भव्य सैन्य परेडमा सहभागिता जनाएपछि दुवै नेताले दियाओयुताई राज्य अतिथिगृहमा औपचारिक भेट गर्नुभएको हो ।
क्रेमलिनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पुटिन र किम एउटै कारमा औपचारिक स्वागतदेखि वार्तास्थलसम्म सँगै पुगेको उल्लेख गरेको छ ।
– उत्तर कोरियाली सैनिकको प्रशंसा –
बैठक सुरू हुँदा पत्रकारहरूलाई सम्बोधन गर्दै पुटिनले युक्रेनसँगको युद्धमा रूसी सेनासँगै लडेका उत्तर कोरियाली सैनिकहरूको साहस र वीरताको प्रशंसा गर्नुभयो ।
दक्षिण कोरियाको अनुमानअनुसार, गत वर्षदेखि उत्तर कोरियाले करिब १५ हजार सैनिक रूस पठाइसकेको छ । यससँगै उसले ब्यालेस्टिक मिसाइल र तोपखानासहित ठूलो मात्रामा सैन्य उपकरण पनि उपलब्ध गराएको छ, जसले युक्रेनमा पुटिनको तीन वर्ष लामो आक्रमणलाई थप बल प्रदान गरेको छ ।
– रणनीतिक साझेदारी र सहयोग –
प्रारम्भिक टिप्पणीमा किमले गत वर्ष जुनमा प्योङयाङमा सम्पन्न शिखर सम्मेलनपछि मस्को–प्योङयाङबीचको रणनीतिक साझेदारी उल्लेखनीय रूपमा मजबुत भएको बताउनुभयो ।
युद्धबारे प्रत्यक्ष रूपमा उल्लेख नगरी उहाँले भन्नुभयो, “यदि म तपाईं र रुसका जनताका लागि केही गर्न सक्छु भने र त्यस्तो आवश्यक छ भने म त्यसलाई भ्रातृ कर्तव्यको रूपमा लिन्छु । यो हाम्रो साझा दायित्व हो, जसलाई पूरा गर्न म सबै प्रकारले सहयोग गर्न तयार छु ।”
– ऐतिहासिक बहुपक्षीय उपस्थिति –
बेइजिङको वार्षिकोत्सव समारोहले किमको १४ वर्ष लामो शासनकालमा पहिलो पटक प्रमुख बहुपक्षीय कार्यक्रममा उपस्थिति जनाएको हो । यस अवसरमा पहिलो पटक किम, पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङ एउटै स्थानमा भेला हुनुभएको छ ।
पर्यवेक्षकहरू किमले सीसँग द्विपक्षीय भेट गर्नुहुन्छ कि वा सी र पुटिनसँग त्रिपक्षीय निजी बैठक बस्नुहुन्छ भन्ने विषयमा चासो दिइरहेका छन् । तर हालसम्म कुनै पक्षले त्यसबारे आधिकारिक पुष्टि गरेको छैन ।-रासस