काठमाडौं । चीनको राजधानी बेइजिङमा दोस्रो विश्वयुद्ध अन्त्यको ८० वर्षको अवसरमा एक विशाल सैन्य परेडको आयोजना गरिएको छ ।
चिनिया इतिहासकै सबैभन्दा ठुलो यस परेडमा चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वका नेताहरू, जसमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ उन, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली लगायत सहभागी हुनुहुन्छ ।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, विजय परेडको नाम दिइएको सैन्य परेड स्थानीय समयअनुसार आज बिहान ९ बजे सुरु भएको हो । चीनले यस्तो विजय दिवसको अवसरमा सैन्य परेडको आयोजना गरेको यो दोस्रो पटक हो। यसअघि, १० वर्ष पहिले सन् २०१५ मा पहिलो पटक भव्य परेडको आयोजना गरिएको थियो।
परेडमा चीनको सैन्य शक्तिको भव्य प्रदर्शन गरिएको छ । उन्नत सैन्य उपकरणहरू जस्तै ड्रोन, हाइपरसोनिक मिसाइल, र फाइटर जेटहरू प्रदर्शनमा राखिएका छन् । चिनियाँ सैन्य अधिकारीहरूका अनुसार, यस परेडमा जनमुक्ति सेना (पीएलए) का सयौँ विमानहरू प्रदर्शन गरिनेछन्।
चिनिनया सरकारी सञ्चार माध्यमका अनुसार, परेडमा ८० बिगुलरहरू उपस्थित छन्, जसले दोस्रो विश्वयुद्धमा साम्राज्यवादी जापानको पराजय भएको ८० वर्षको सङ्केत गर्नेछ। यसका अतिरिक्त, १ हजार भन्दा बढी संगीतकार १४ लहरमा उपस्थित छन्, जसले सन् सन् १९३१ मा जापानको मन्चुरिया आक्रमणपछि चीनको प्रतिरोधको प्रत्येक वर्षलाई प्रतिनिधित्व गर्नेछ।
सन् २०१४ मा, चिनियाँ सरकारले जापानको आत्मसमर्पणपछि सेप्टेम्बर ३ लाई विजय दिवसको रूपमा घोषणा गरेको थियो।
यसैबीच, सैन्य परेडमा सहभागी हुन चीनको थियानजीनमा आयोजित एससीओ प्लस सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री ओली रेलमार्गमार्फत् बेइजिङ पुग्नुभएको हो । प्रधानमन्त्री ओलीले थियानजीनमा रुसी राष्ट्रपति भ्लादिमिर पु्टिनसँग भेटवार्ता गर्नुभएको थियो । एससीओ प्लस सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान समयमा कुनै पनि देश एक्लै सुरक्षित रहन सक्ने अवस्था नरहेको उल्लेख गर्दै बहुपक्षीय सहकार्य अनिवार्य रहेको बताउनुभएको थियो।