काठमाडौं । पाकिस्तानको उत्तर क्षेत्रमा रहेको गिलगिट-बल्तिस्तानको दिआमेर जिल्लामा सोमबार बिहान एक सरकारी हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार सबै पाँच जनाको मृत्यु भएको छ ।
दिआमेरका वरिष्ठ प्रहरी अधिकारी अब्दुल हमिदका अनुसार, उक्त हेलिकप्टर एक पहाडी पर्यटकीय क्षेत्रमा नयाँ प्रस्तावित हेलिप्याडमा परीक्षण अवतरण गरिरहेका बेला दुर्घटनाग्रस्त भएको हो ।
मृतकमध्ये दुई जना पाइलट र तीन जना प्राविधिक कर्मचारी रहेका छन् । दुर्घटना स्थानीय समयअनुसार बिहान करिब १० बजे भएको जनाइएको छ । यो हेलिकप्टर गिलगिट-बल्तिस्तान सरकारको स्वामित्वमा रहेको थियो ।
यस घटनाले केही साता अघिको अर्को दुर्घटनालाई पुनः स्मरण गराएको छ, जसमा खैबर पख्तुनख्वा प्रान्तमा बाढी राहत कार्यमा खटिएको एक एमआई-१७ हेलिकप्टर दुर्घटना हुँदा पाँच जना चालक दलका सदस्यको ज्यान गएको थियो ।
पछिल्ला वर्षहरूमा पाकिस्तानमा हेलिकप्टर दुर्घटनाका धेरै घटना भएका छन्। सन् २०२२ मा बाढी राहत कार्यकै क्रममा बलुचिस्तानमा भएको अर्को दुर्घटनामा पाँच जना सैनिक र एकजना उच्च सैनिक अधिकारीको मृत्यु भएको थियो ।-एएफपी