धनकुटा । पूर्वको तेह्रथुमदेखि सुदूरपश्चिमको डडेलधुररासम्मै मध्यपहाडी क्षेत्रका सुन्तला बगान मासिँदै गएका छन् ।
सुन्तला बगान मासिँदै जानुको एउटा मुख्य कारण सिट्रस सील्ला नामको किराले सार्ने ग्रीनिङ रोग रहेको अनुमान कृषि वैज्ञानिकहरूले गर्दै आएका छन् । सोही रोग पत्ता लगाउन धनकुटामा रहेको राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रमले रोगी बोटबाट नमूना संकलन गरी पीसीआर गरिरहेको छ ।
यसले रोग पहिचान र नियन्त्रण गर्न सहज हुने दाबी अधिकारीहरूको छ । धनकुटाको खोकु सुन्तला उत्पादनका लागि प्रसिद्ध छ । तर पछिल्ला वर्षमा सुन्तला बगैंचा मासिदै गएका छन् ।
यस्तै सुन्तला उत्पादनका लागि कहलिएको पाल्पा र स्याङ्जामा पनि किसानका बगैंचामा बेमौसममा फूल र फल लाग्ने, विस्तारै उत्पादन र गुणस्तर घट्दै जाने, पात पहेँलिने र बोट मर्ने समस्या छ ।
धनकुटा, पाल्पा र स्याङजमा मात्र होइन, व्यवसायिक सुन्तला खेती हुने मध्यपहाडी क्षेत्रका प्राय सुन्तला बगैंचामा पात पहेँलिने, हाँगा सुक्ने र टुप्पोबाट बोट मर्ने समस्या छ । कृषि प्राविधिकहरु सुन्तला बगैंचामा यस्तो समस्या देखिनुमा मौसममा आएको फेरवदल, माटोमा पोषक तत्वको कमि र ग्रीनिङ रोगका कारण हुनसक्ने अनुमान गर्छन् ।
लक्षणकै आधारमा एकिन गर्न नसकिने ग्रीनिङ रोग पहिचानका लागि धनकुटामा रहेको राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रमले रोगी बोटबाट नमुना लिएर पिसिआर परिक्षण गरिरहेको छ । यो परिक्षणबाट ग्रीनिङ रोग पक्ता लगाएर नियन्त्रण रणनिती बनाउन सहज हुने कृषि वैज्ञानिकको दाबी छ ।
मध्यपहाडी क्षेत्रको ४५ हजार ४ सय २४ हेक्टर क्षेत्रफल सुन्तला खेतीले ओगटेको तथ्याङ्क छ । यसको ६० प्रतिशत बगैंचामा ग्रीनिङ जस्तो देखिने रोगको प्रकोप फैलिइसकेको कृषि प्राविधिकहरू बताउँछन् ।
उपकरण, जनशक्ति, परिक्षणका लागि आवश्यक रिएजेन्ट र रसायनको सिमित उपलब्धता जस्ता कारणले रोगी बिरूवाको नमुना परिक्षण सर्वसाधारण किसानको पहुँचमा छैन् ।
ग्रीनिङ रोग चिनेर त्यसको व्यवस्थापन गर्न रोगी बिरूवाको नमुना परिक्षणलाई विस्तार गरी उपचार पद्धतीलाई सर्वसूलभ बनाइनु आवश्यक छ ।