अफगानिस्तान भूकम्प अपडेट : ८१२ को मृत्यु, तीन हजार बढी घाइते

भाद्र १६, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
अफगानिस्तान भूकम्प अपडेट : ८१२ को मृत्यु, तीन हजार बढी घाइते

काठमाडौं । अफगानिस्तानमा गएराति गएको ६ म्याग्निच्यूडको भूकम्पमा परी ८ सय भन्दा बढीको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यम अलजजीराले जनाएकाे छ । भूकम्पमा परि ८ सय १२ जनाको मृत्यु भएको तालिबान सरकारकाे प्रवक्ताले जनाएको अलजजीराले उल्लेख गरेकाे छ। यस्तै भूकम्पमा परि तीन हजार भन्दा बढी घाइते भएका छन् ।

अफगानिस्तानको नांगरहार र कुनार प्रान्तमा गएराति स्थानीय समयअनुसार ११ बजेर ४७ मिनेटमा भूकम्प गएको थियो । भूकम्पको गहिराई ८ किलोमिटर रहेको थियो । पहिलो भूकम्पपछि आएका लगातारका शक्तिशाली पराकम्पका कारण ठूलो क्षति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

समाचार एजेन्सी एएफपीकाअनुसार भूकम्पका झड्का अफगानिस्तानको राजधानी काबुलसहित पाकिस्तानको राजधानी इस्लामावादसम्म महशुस गरिएको थियो ।

कुनारमा सबैभन्दा धेरै क्षति भएको बताइएको छ । त्यहाँ करिब ९० प्रतिशत भूभाग पहाडी क्षेत्र रहेको छ । भूकम्प प्रभावित क्षेत्रसम्म जाने बाटो निकै साँघुरो रहेको र कयौं भूस्खलनका कारण अवरूद्ध भएको बताइएको छ ।

तालिबानका अधिकारीहरुका अनुसार आफूहरुसँग सीमित स्रोत साधन रहेको र अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि अपिल गरिएको छ ।