काठमाडौं । प्रतिनिधि सभाको शुक्रवार बस्ने बैठकबाट भूमिसम्बन्धी विधेयक पारित गर्ने तयारी गरिएको छ ।
सभामुख देवराज घिमिरेले बिहीवार राजनीतिक दलका प्रमुख सचेतकहरुसँग भदौ महिनाभर सञ्चालन हुने बैठकका कार्यसूची निर्धारण गर्न छलफल गर्नुभएको थियो । छलफलमा शुक्रवारको बैठकमा भूमिसम्बन्धी विधेययकलाई पारित गर्ने कार्यसूची राखिएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । उहाँले भूमिसम्बन्धी विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाउने र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको जानकारी दिनुभयो । भदौ १८ र १९ गते बस्ने बैठकको पनि कार्यसूची तयार परिएको छ । प्रमुख सचेतक बर्तौलाकाअनुसार भदौ १८ गते नागरिकता सम्बन्धी विधेयक र राष्ट्रपति कार्यलयबाट फिर्ता भएको संवैधानिक परिषद्को काम कर्तव्य, अधिकार र कार्यविधिसँग सम्बन्धित विधेयक पारित गर्ने तयारी गरिएको छ ।
भदौ १७ गते राष्ट्रिय सभावाट सन्देशसहित संघीय निजामती विधेयक फिर्ता आएमा १८ गते टेबुल गर्ने र १९ गते पारित गर्ने तयारी गरिएको पनि एमाले प्रमुख सचेतक बर्तौलाले जानकारी दिनुभयो । त्यसपछि भदौ २५, २६ र २७ गते प्रतिनिधि सभाको बैठक बस्नेछ । भदौ २६ गते विद्यालय शिक्षा विधेयक पारित गर्नेगरी तयारी गरिएको बर्तौलाले जानकारी दिनुभयो ।
उहाँले भदौ महिनामा प्रतिनिधि सभाबाट संघियतासँग सम्बन्धित महत्वपूर्ण रहेका विधेयकहरु पारित हुने बताउनु भयो ।