शिक्षा विधेयकमा आफ्ना माग सम्बोधन नभए आन्दोलन चर्काउने शिक्षकहरुको चेतावनी

भाद्र १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
शिक्षा विधेयकमा आफ्ना माग सम्बोधन नभए आन्दोलन चर्काउने शिक्षकहरुको चेतावनी

काठमाडौं । शिक्षकहरुले विद्यालय शिक्षा विधेयकमा आफूहरुको सबै माग सम्बोधन नभए आन्दोलनको कार्यक्रमलाई अझै चर्काउने चेतावनी दिएका छन् ।

बिहीवार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा धर्ना दिन पुगेका उनीहरुले विधेयकमा आफूहरुका महत्वपूर्ण माग सम्बोधन नभए फेरि आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति नेतृत्वको टोलीले विद्यालय शिक्षा विधेयकमा आफूहरुको माग सम्बोधन गर्न दवाव दिँदै प्रमुख दलका मुख्यालयमा धर्ना दिइरहेका छन् । विद्यालय शिक्षक, कर्मचारीका बाँकी माग पनि सम्बोधन गराउनका लागि आफूहरुले दबाब स्वरुप दलको केन्द्रीय कार्यालयमा धर्ना दिने काम शुरु गर्नुपरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताउनु भयो । उहाँले आफूहरुको सो माग सम्बोधन नभई सो ऐन संघीय संसदबाट पारित भए आन्दोलनलाई थप कडाईका साथ अघि बढाउन बाध्य हुने चेतावनी समेत दिनुभयो ।

महासंघले भाद्र ११ गते बुधवारदेखि विधेयकमा आफूहरुको माग सम्बोधन गराउने उद्देश्यले प्रमुख दलको मुख्यालयमा हरेक दिन २ घण्टा बिहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिने दिने आन्दोलनको कार्यक्रम शुरु गरेको छ । त्यसैक्रममा बुधवार काँग्रेस मुख्यालय सानेपामा धर्ना दिएका उनीहरुले बिहीवार (आज) एमाले मुख्यालय च्यासलमा धर्ना दिएका हुन् । १३ गते शुक्रवार नेकपा (माओवादी केन्द्र)को पेरिसडाँडास्थित मुख्यालय धर्ना दिने कार्यक्रम रहेको महासंघले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.