अन्तःशुल्क स्टिकर प्रकरण : विशेष अदालतको सफाइविरूद्ध अख्तियारको सर्वोच्चमा पुनरावेदन

भाद्र ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
अन्तःशुल्क स्टिकर प्रकरण : विशेष अदालतको सफाइविरूद्ध अख्तियारको सर्वोच्चमा पुनरावेदन

काठमाडौं । अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको अभियोगबाट तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्यालसहितका प्रतिवादीलाई सफाइ दिने विशेष अदालतको फैसलाविरूद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

तथ्य र प्रमाणलाई अनदेखा गरेर विशेष अदालतले त्रुटिपूर्ण फैसला गरेको जिकिरसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मागदाबीअनुसार नै प्रतिवादीहरूलाई सजाय हुनुपर्ने भन्दै पुनरावेदन दिएको हो ।

अख्तियारले ९ असार २०८१ मा बहालावाला मुख्यसचिव अर्याल र अर्थमन्त्रालयका सहसचिव रितेश शाक्यसहित १२ जनाविरूद्ध ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रूपैयाँ बिगो कायम गरी कैद र जरिवानाको सजाय हुनेगरी मुद्दा दायर गरेको थियो । 

त्यस्तै स्टिकर छपाइमा भुक्तानी भएको ६ करोड ८४ लाख ४५ हजार ६ सय रूपैयाँ प्रतिवादीहरूबाट जनही रूपमा असुल उपर गर्नुपर्ने अभियोग पत्रमा छ । १४ असोज २०८१ मा मुद्दाको किनारा लगाउँदै विशेषले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई दोषी ठहर गरी बाँकीलाई सफाइ दिएको थियो । 

फैसलाविरूद्ध अख्तियारले आइतबार पुनरावेदन गरेको हो । सफाइबारे विशेषले लिएका आधार र तथ्यहरू स्थापित नजिर र अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणविपरीत भएकाले फैसला बदर गरेर अभियोगपत्रअनुसार सजाय हुनुपर्ने अख्तियारको पुनरावेदनमा उल्लेख छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.