इजरायली सेनाले घेराबन्दीमा पारेको गाजा क्षेत्र भोकमरीको भीषण चपेटामा परेको छ ।
संयुक्त राष्ट्र संघको भोकमरी अनुगमनकर्ता संस्था एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरणले गाजा क्षेत्रको सीमा बाहिर सयौं सहायता ट्रकहरूमा खाद्यान्न लादिएको अवस्थामा गाजाको भोकमरी पाँचौ चरणमा पुगेको जनाएको हो ।
जुन सबैभन्दा गम्भीर अवस्था हो । यो संस्थाले एक चौथाई प्यालेस्टिनीहरू अनिकालबाट पीडित भएको संसारलाई स्तब्ध पार्ने प्रतिवेदन सार्वजनिक गरेको छ ।
साथै गाजामा यो अवस्था आउनुमा पूर्णरूपमा मानवीय गतिविधि नै जिम्मेवार भएको ठहर गरेको छ ।
उसले इजरायललाई गाजा क्षेत्रमा खाद्यान्न प्रवेश गर्न "व्यवस्थित अवरोध" गरेको आरोपसमेत लगाएको छ ।
यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा भएको अनिकाललाई मानवताको असफलता भएको टिप्पणी गर्नुभएको छ ।
इजरायलले भने एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरणको प्रतिवेदनलाई पूर्ण झूठको संज्ञा दिएको छ ।