गाजामा ३ लाखभन्दा बढी बालबालिकाहरू कुपोषणपीडित

भाद्र ७, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
गाजामा ३ लाखभन्दा बढी बालबालिकाहरू कुपोषणपीडित

काठमाडौं । गाजामा ३ लाखभन्दा बढी बालबालिकाहरू कुपोषणपीडित भएको अल-सिफा अस्पतालका निर्देशकले दाबी गरेका छन् ।

अस्पतालका निर्देशक मोहम्मद अबु साल्मियले ३ लाख २० हजार बालबालिकाहरू कुपाेषणको चरणमा प्रवेश गरेको बताउनुभएको हो । अस्पतालमा उपचार गराइरहेका घाइते बालबालिकाहरू कुपोषणबाट प्रभावित भएको उहाँको भनाइ छ । 

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ बालबालिकासहित ८ जनाको कुपोषणका कारण मृत्यु भएको छ । इजरायली आक्रमणबाट सिर्जित भोकमरी संकटका कारण हालसम्म गाजामा २ सय ८१ जनाको मृत्यु भइसकेको छ, जसमा १ सय १४ जना बालबालिका छन् ।

शुक्रबारमात्र इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन-आइपीसीले गाजाको एक चौथाइ जनसंख्या अर्थात् ५ लाख १४ हजार मानिसले भोकमरीको सामना गरिरहेको तथ्यांक सार्वजनिक गरेको थियो ।

यसैबीच, इजरायलको आक्रमणबाट गाजामा मृत्यु हुनेको संख्या ६२ हजार ६ सय २२ पुगेको छ । २४ घण्टामा ६१ जनाको मृत्यु हुनाको साथै ३ सय ८ जना घाइते भएका छन् । मृत्यु हुनेमध्ये १६ जना सहयोगको पखाईमा रहेका प्यालेस्टिनीहरू रहेको जनाइएको छ ।