काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले ९० भन्दा बढी देशमा नयाँ भन्सार शुल्क घोषणा गर्नुभएको छ । यसअघि दिएको व्यापार सम्झौताको म्याद सकिएपछि राष्ट्रपति ट्रम्पले नयाँ भन्सार शुल्क घोषणा गर्नुभएको हो ।
अमेरिकाले क्यानडाबाट आयात हुने वस्तुमा यसअघि लगाउँदै आएको २५ प्रतिशत भन्सार शुल्क बढाएर ३५ प्रतिशत पुर्याएको छ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी निर्णयप्रति निराशा व्यक्त गर्नुभएको छ । यद्यपि पहिलाको सम्झौता अनुसार धेरै क्यानडाली वस्तु छुटको सूचीमा रहेको बीबीसीमा जनाएको छ ।
यस्तै अमेरिकाले मेक्सिकोका लागि शुल्क वृद्धिको निर्णय भने आगामी ९० दिनका लागि स्थगित गरेको छ । ब्राजिलमाथि ५० प्रतिशत शुल्क लगाउने निर्णय गरेको छ । यसको सबैभन्दा बढी असर ब्राजिललाई पर्ने छ ।
ट्रम्पले यो नयाँ आयात करको योजना पहिलो पटक गत अप्रिलमा सार्वजनिक गर्नुभएको थियो । जसले विश्व अर्थतन्त्रमा हलचल ल्याएको थियो । त्यसपछि उहाँले बेलायतलगायतका देशहरूलाई सम्झौता गर्ने समय दिन भन्दै यो योजना केही समयका लागि स्थगित गर्नुभएको थियो ।
गत अप्रिलमा ट्रम्पले घोषणा गरेका आक्रामक नीति यो पटक लागू नगरिएको विज्ञहरूको टिप्पणी छ । तर, भन्सार शुल्कका कारण अमेरिकी आयातकर्ता कम्पनीहरूले सरकारलाई बढी कर तिर्नुपर्ने छ । जसको असर अन्ततः उपभोक्तामा पर्ने छ ।
ट्रम्पले घोषणा गरेको नयाँ भन्सार शुल्कमा दक्षिण एसियाली राष्ट्रहरू परेका छन् । पाकिस्तानलाई १९ प्रतिशत, बंगलादेश र श्रीलंकालाई २० प्रतिशत भन्सार शुल्क लगाइएको छ । यस्तै भारतलाई २५ प्रतिशत भन्सार शुल्क तोकिएको छ । युद्धग्रस्त राष्ट्र म्यानमारलाई पनि ट्रम्पले ४० प्रतिशत कर लगाउनुभएको छ ।