काठमाडौं । विश्वका एक सयभन्दा भन्दा बढी अन्तर्राष्ट्रिय सहायता संस्थाहरूले गाजामा व्यापक भोकमरी फैलिरहेको चेतावनी दिएका छन् ।
उनीहरूले इजरायलमाथि गाजामा नाका बन्दी लगाएको र प्रवेश गरिसकेका खाद्य सामग्रीको वितरणमा समेत बाधा पुर्याइरहेको आरोप लगाएका छन् । उता इजरायलले भने अन्तर्राष्ट्रिय संस्थाहरूले उठाएर वितरण गर्न बाँकी ९५० ट्रक बराबरको सहायता सामग्री गाजा रहेको दावी गरेकोछ ।
संयुक्त राष्ट्रसंघ, एमनेस्टी इन्टरनेशनल, डाक्टर विदाउट बोर्डर्स, सेभ द चिल्ड्रेन लगायतका संस्थाहरूले इजरायलमाथि गाजामा मानवीय प्रणालीलाई अवरूद्ध गरिएको आरोप लगाएका हुन् । उनीहरूले गाजामा युद्धविराम गर्न, सबै नाका खोल्न र सैन्य-नियन्त्रित वितरण मोडेलको अन्त्य गर्न माग समेत गरेका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुटेरेसले गाजामा भोकमरीले प्रत्येक ढोका ढकढक्याइरहेको भन्दै गहन चिन्ता व्यक्त गर्नुभएको छ। यसैबीच गाजाको स्वास्थ्य मन्त्रालयले गत ४८ घण्टामा ३३ जनाको कुपोषणका कारण मृत्यु भएको जनाएकोछ ।
इजरायलले भने गाजामा स्थल र हवाई आक्रमण जारी राखेको छ । हमास नियन्त्रित नागरिक सुरक्षा एजेन्सीले बुधबारको हवाई आक्रमणमा मात्रै १७ जनाको मृत्यु भएको जनाएकोछ ।